२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


किशोरी हत्याका मुख्य योजनाकार अझै फेला परेनन्


0
Shares

जितेन्द्र भण्डारी

पाँचथर, जेठ ४ । हत्या भएको एक हप्ता बित्न लाग्दा पनि पाँचथरको हिलिहाङ ४ की १५ बर्षीय किशोरी शितल योङहाङको हत्याका मुख्य योजनाकार भनिएका पदम तामाङ पक्राउ पर्न सकेका छैनन् ।

तामाङका साथी भगिरथ बास्तोलालाई पक्राउ गरे पनि मुख्य योजनाकार तामाङ भने फरार छन् ।

मृतकका आफन्तले हत्या आरोपी पक्राउ गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

योङहाङको गत आइतवार घर नजिकै घाँटी रेटेर हत्या गरिएको थियो । शितलका प्रेमीसमेत रहेका तामाङ बाँस्तोलालाई लिएर करिब एकसाता अघि किशोरीको गाउँ पुगेको अनुसन्धानमा खुलेको पाँचथरका प्रहरी प्रमूख नरेन्द्र कुँवर बताउँछन् ।

नजिकैको सिद्ध मावि कक्षा १० मा अध्ययनरत ती किशोरीसँग अरु कसैले फोनमा कुरा गर्ने गरेको शंका गर्दै तामाङले उनको हत्या गरेको हुनसक्ने पक्राउ परेका बास्तोलाको बयानमा खुलेको प्रहरी स्रोत बताउँछ ।

‘घटनाको प्रकृति अध्ययन गर्दा तामाङ योङहाङको हत्या गर्ने मनस्थिति सहित उनको गाउँ पुगेको देखिन्छ,’ प्रहरी प्रमुख कुँवरले भने, ‘हत्याका मुख्य योजनाकार तामाङको खोजी भइरहेको छ ।’

मृतकका पिता सर्ण योङहाङ भने वैदेशिक रोजगारीका शिलसिलामा चार महिनादेखि दुबईमा छन् ।