३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


जनतालाई राहत पुग्ने कार्यक्रम ल्याउन सरकारलाई देउवाको सुझाव


0
Shares

काठमाडौं, वैशाख ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई राहत पुग्ने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

आख्यानकार गगनसिंह थापाको उपन्यास ‘पुर्खाको चिठ्ठी’को शनिबार राजधानीमा लोकार्पण गर्दै कांग्रेस सभापति देउवाले कालोबजारी, महंगी र भ्रष्टाचारले मुलुक जर्जर हुन थालेको भन्दै जनतालाई राहत पुग्ने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।

उनले संविधान कार्यान्वयनसमेत अहिलेको चुनौती रहेकाले त्यसका लागि सबै दल एक ठाउँमा जुट्नुपर्ने बताए ।

संविधानप्रति असन्तुष्टहरुका माग वार्ता र छलफलबाट पूरा गर्न सकिने भन्दै उनले संविधान कार्यान्वयनमा व्यवधान नपुर्‍याउन आग्रह गरे । संविधान कार्यान्वयन हुन नसक्दा बेथिति बढेको उनको भनाइ थियो ।

सभापति देउवाले संविधान कार्यान्वयनसँगै मुलुकका समस्या समाधान हुँदै जाने स्पस्ट पारे ।

सत्ता टिकाउने खेलमा सत्तारुढ दल : गगन
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले जनताका मुद्दा सम्बोधन गर्न नसकेको बताए ।

उनले जनताका काम गर्नुभन्दा जसरी पनि सत्ता टिकाउने खेलमा सत्तारुढ दल लागेको आरोप लगाए ।

पुस्तकका लेखक आख्यानकार गगनसिंह थापा र प्रकाशक हिक्मत थापाले ‘पुर्खाको चिठ्ठी’मा समेटिएका विषयवस्तुबारे प्रकाश पारेका थिए ।

सार्वजनिक गरिएको उपन्यासमा सुदूरपश्चिमको वर्तमान अवस्था, रहन–सहन, रितिरिवाज, महिलाको अवस्थाकाबारेमा चित्रण गरिएको छ ।