
चितवन, असार २८ । भरतपुर महानगरपालिका क्षेत्रभित्र सहरी विकास मन्त्रालयमार्फत् रु तीन अर्बभन्दा बढीका विकास निर्माणका योजना सुरु हुने भएका छन् ।
यसमध्ये अधिकांश योजना ठेक्कामा लगाइसकिएको छ भने केही ठेक्का प्रक्रियामा रहेका छन् ।
सहरी विकासले बजेट विनियोजन गरेको भरतपुर महानगर क्षेत्र चितवन क्षेत्र नम्बर–३ पर्दछ ।
यो पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित क्षेत्र हो ।
सहरी विकास मन्त्रालयमार्फत् सन्चालन हुन लागेका योजनाहरुमा अधिकांशतः सडक कालोपत्र गर्ने रहेका छन् ।
त्यसका अतिरिक्त अत्याधुनिक सिटी हल निर्माण, देवघाटमा शवदाहस्थल, बसपार्क सुधार, मन्दिर संरक्षण, रानीपोखरी व्यवस्थापन र भरतपुर अस्पतालमा कुरुवा घर निर्माण रहेका छन् ।
भरतपुर महानगरकी प्रमुख रेनु दाहालकाअनुसार दुई अर्ब रुपैयाँ बराबरको रिङरोड र लिंकरोड ठेक्का लागिसकेको छ भने अन्य ठेक्का प्रक्रियामा रहेको छ । सो बजेटबाट ५९ किलोमिटर सडक कालोपत्र गरिँदैछ ।
त्यसैगरी, सिटी हल निर्माणका लागि रु ५० करोड बजेट सहरी विकास तथा भवन निर्माण विभागले छुट्याएको छ ।
भरतपुर महानगरपालिका–१८ को रानीपोखरी क्षेत्रलाई पर्यटकीय क्षेत्रकारुपमा विकास गर्न, वडा नम्बर–६ को लक्ष्मीनारायण मन्दिरलाई व्यवस्थापन गर्न र ९ नम्बर वडामा रहेको केन्द्रीय बस टर्मिनल मर्मत–सम्भारका लागि रु ४५ करोड सो विभागले विनियोजन गरेको छ ।
यसैगरी, भरतपुर अस्पतालको कुरुवाघर निर्माणका लागि सात करोड ५० लाख र देवघाटमा शवदाहस्थल निर्माणका लागि १७ करोड रुपैयाँ विनियोजन भएको दाहालले बताइन् ।
सिटी हलको जग्गा टुङ्गो लागि नसकेकाले आगामी आर्थिक वर्षमा काम हुने भएपनि अन्य सबै काम यसै आर्थिक वर्षदेखि सुरु हुने दाहालले बताइन् ।
महानगर प्रमुख दाहालले यस क्षेत्रका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा सो बजेट आएको बताइन् ।
उनले भनिन्–‘हाम्रो महानगरको विकास बजेटभन्दा बढी सहरी विकासले बजेट दिएको छ ।’
भरतपुर महानगरको आउँदो वर्षको पुँजीगत बजेट रु एक अर्ब ६२ करोड ५६ लाखमात्रै रहेको छ ।
महानगरको कुल बजेटमा तीन अर्ब ३४ करोडको ४८ दशमलव ६६ प्रतिशतमात्र पुँजीगत खर्च रहेको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनका प्रमुख कुमार घिमिरेले सघन सहरी विकास कार्यक्रमअन्तर्गत् विभागले भरतपुर महानगरमा विकास निर्माणका विभिन्न काम गर्न लागेको बताए ।
उनकाअनुसार भारतसँग सीमा जोडिएका भद्रपुरदेखि धनगढीसम्मका २१ सदरमुकामका सहरमा विभागले काम थालेको छ ।
महानगरमा ठेक्का लागिसकेका करिब रु दुई अर्ब बराबरको सडक शुक्रबार शिलान्यास हुने र २०७७ साल असार मसान्तसम्ममा सम्पन्न हुने उनले बताए ।
नेपाल सरकारको वैदेशिक ऋणबाट महानगरमा विभिन्न योजनाको काम सुरु गर्न लागिएको हो । रासस
प्रतिक्रिया दिनुहोस्