१३ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025


कनकासुन्दरी मन्दिरमा १३ औँ शताब्दीका मूर्ति भेटिए


0
Shares

जुम्ला, वैशाख ६ । शक्तिशाली खस राज्यको राजधानी रहेको जुम्ला सिंजाको कनकासुन्दरी गाविस–७ स्थित धोबीघाट नजिक १३ औँ शताब्दीका मूर्ति भेटिएका छन् ।

कनकासुन्दरी भगवतीको मन्दिर हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटक बस्नका लागि निर्माण कार्य थालिएको धर्मशालाको जग खन्दै गर्दा पाँचवटा मूर्ति भेटिएका हुन् ।

उत्खननको अवस्था तथा भेटिएका मूर्ति अध्ययन गर्दा १३ औँ शताब्दीको मल्लकालीन सभ्यातासँग सम्बन्धित हुनसक्ने कर्णालीका संस्कृतिविद् तथा इतिहाससम्बन्धी जानकार रमानन्द आचार्यले बताए । विसं १३७१ सम्म आद्धित्य मल्ल राजा हुँदा मल्ल सामाज्य विकसित भइसकेको र यस्ता कलामा बढी उनीहरुको रुची हुने गरेको पाइएकाले यी १३ औँ शताब्दीका मूर्ति भएको संस्कृतिविद् आचार्यको भनाइ छ ।

भेटिएका मूर्तिमा शिव, पार्वती, साँढे, बुद्ध रहेकोे कनकासुन्दरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर रावतले जानकारी दिए । एउटा मूर्तिको टाउको नभएका कारण पहिचान गर्न नसकिएको अध्यक्ष रावतले बताए । मूर्ति गत चैत २२ गते जगखन्दाको क्रममा भेटिएको उनको भनाइ छ । भेटिएका सबै मूर्ति कनकासुन्दरी प्रहरी चौकीको सुरक्षामा राखिएको व्यवस्थापन समितिका सदस्य नन्दलाल रावतले उल्लेख गरे ।

‘४/५ महिना अघि कनकासुन्दरीको नजिकै सुनको मूर्ति भेटिएको थियो तर त्यो कसैले गायब गरिदिएकाले अहिले सबै मूर्ति प्रहरीको सुरक्षामा राखेका छौँ,’ सदस्य रावतले भने । उनका अनुसार कर्णाली क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति जुम्लाले यहाँको ऐतिहासिक तथा सांस्कृतिक पर्यटन विकासका निम्ति धर्मशाला निर्माण गर्न रु आठ लाखको योजना दिएको थियो ।

मन्दिरको पूर्वी छेउमा धर्मशालाको एक मिटर जगखन्दा मूर्ति भेटिएको त्यो शक्ति खस दरबारको सुरक्षा पोस्ट हुनसक्ने बताइएको छ । त्यतिमात्र नभए जमिन खोतल्दै जाँदा सो क्षेत्रमा मानव अस्थिपञ्जर पनि भेटिएको उनले बताए । मन्दिर भएको वरिपरिको भू–भागलाई उत्खनन गर्दा तमाम खस सभ्याताका अवशेष प्राप्त हुने भन्दै भेटिएका मूर्ति राख्न कर्णाली खस सङ्ग्रहालय त्यसक्षेत्रमा अनिवार्य रुपमा स्थापना गर्नुपर्ने आवश्यकता रहेको मन्दिर व्यवस्थापन समितिले औँल्याएको छ ।

विशेषगरी पाण्डवगुफा, विराट तथा कनकासुन्दरी गाविसको भूमि उत्खनन गर्दा विराट सिंजा दरबार, खस सभ्यता र त्यहाँको इतिहासको पहिचान हुने स्थानीय ज्येष्ठ नागरिक गौरीलाल न्यौपानेले बताए । (रासस)