२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


भक्तपुरका कैयौं बस्ती डुबानमा, तीनजनाको मृत्यु, १५ घर ढले


0
Shares

रमेश गिरी (रासस)

भक्तपुर, असार २८ । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरका चारैओटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ ।

बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भए ।

घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाइएकोमात्र होइन, हजारौं वासिन्दा बिचल्लीमा परेका छन् ।

राति ३ बजेदेखि बस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको थियो ।

नगरकोट, बागेश्वरी, छालिंग, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको एकमात्र निकासकारुपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिएपछि बस्ती डुबानमा परेको हो ।

डुबानबाट अथाह क्षति

हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्तपुर नगरपालिकाको जगाते, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् ।

यहाँका टहरा र माटोका घरहरु भत्किएका छन् भने जगातीस्थित सिद्धिस्मृति अस्पताल डुबानमा परेको छ । डुबानका कारण अस्पतालको उपचार प्रभावित हुनाका साथै आकस्मिक कक्ष बन्द भएको छ ।

यहाँका प्राविधिक सामानहरुमासमेत क्षति पुगेको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिए ।

त्यसैगरी, डा. इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको र यन्त्र उपकरणमा क्षति पुगेको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिए ।

भक्तपुरको राम मन्दिर र यहाँसँगैको शान्ति निकेतन मावि डुबानमा पर्दा यहाँको पढाइ बन्द भएको छ ।

त्यसैगरी, मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएसचोक, शंखधर साख्वाःचोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्र पूरै डुबानमा परेको छ ।

जमिन सतहबाट ८ फिटमाथिसम्म पानी आएपछि विशेषगरी भुइँतला घरमा बस्नेहरुको सुरक्षाकर्मी र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उद्धार गरेको थियो ।

रातिदेखि नै पानी बस्तीमा पसेको थियो भने बिहानीपख बस्तीमा पानीको सतह बढ्दै गएको थियो । यहाँका बासिन्दाको भुइँतलाको सामानहरुमा क्षति पुगेको छ ।

बहुतले घरका मानिसबाहिर निस्कन नसक्दा कार्यालय, व्यवसाय र विद्यालय जाने मानिसहरु घरमै रोकिए । भुइँतलासम्म डुबानमा परेपछि त्यहाँका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिएको थियो ।

सूर्यविनायक नगरपालिका क्षेत्रको सिरुटार, बालकोट र कटुञ्जे क्षेत्रमा बाढी पसेर विनाश गरेको छ ।

कौशल्टार पुलमा बाढीले क्षति पुर्‍याएको छ भने बालकोट, कौशलटार, सागबारी, कटुञ्जे क्षेत्रका माटोका भुइँतला घर र टहराहरु बगाएको छ । गोठहरुसँगै गाई, बंगुर, कुखुरा, बाख्राहरुसमेत पानीले बगाएको छ ।

बाढीका कारण मानवीय क्षति नभएपनि भौतिक क्षति र पशुपक्षीको क्षति भएको तर के–कति संख्यामा क्षति भयो ? भन्ने यकिन तथ्यांक आइनसकेको प्रहरीले जनाएको छ ।

मध्यपुर अस्पताल, एसएसकलेज, सिबर्ड कलेज, अक्सफोर्ड स्कुल र ग्लोरी स्कुल डुबानमा परेका छन् भने डुबानमा परेका बस्तीका बासिन्दालाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्नाका साथै डुंगा सन्चालन गरेर सुरक्षित स्थानमा पुर्‍याएको थियो ।

यहाँका वासिन्दा बिहीबार दिउँसो अबेरसम्म पनि सहजरुपमा बाहिर निस्कन सकेका थिएनन् ।

बजारसमेत डुबानमा परेकाले सयौं व्यापारीको खाद्यान्न, विद्युतीय सामान र भाटभाटेनी सुपर मार्केटका सामानहरु क्षति भएका छन् । डुबान क्षेत्रका एक दर्जन विद्यालय बन्द भएको छ ।

यता, मनोहरा सुकुम्वासी बस्ती पूरै डुबानमा परेको छ । जडीबुटीस्थित मनोहरा खोला किनारामा रहेको सुकुम्वासी बस्ती पूरै डुबानमा पर्दा यहाँका वासिन्दाले राति १ बजेदेखि जागा बस्नुपरेको स्थानीयवासीले बताएका छन् ।

सात घन्टापछि खुल्यो राजमार्ग 

डुबानका कारण सडकमाथि तीन फिटसम्म पानी बगेपछि मध्यपुरथिमि शंखधरचोकदेखि सूर्यविनायकसम्म बन्द रहेको अरनिको राजमार्ग सात घन्टापछि सन्चालन भएको छ ।

बिहान ५ देखि बन्द राजमार्ग मध्याह्न १२ बजेपछि सन्चालनमा आएको थियो । बन्द अवधिभर राजमार्गमा यातायातका साधन रोकिँदा यात्रीहरु अलपत्र परेका थिए ।

तीनको मृत्यु, १५ घर भत्किए

अविरल वर्षाका कारण आएको पहिरोले घर थिच्दा भक्तपुरको चाँगुनारायण नगरपालिका–७, मझुवागाउँमा एकै परिवारका तीनजनाको ज्यान गएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलकाअनुसार मृत्यु हुनेमा ७० वर्षीया हिरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा, नातिनी २ वर्ष ६ महिनाकी सम्पदा लामाको मृत्यु भएको छ ।

छोरा–बुहारी भने पक्कीघरमा बसेकाले जीवित रहेको प्रहरीको भनाइ छ ।

राति पहिरोले थिचेर मृत्यु भएपनि परिवारले भने बिहानमात्रै थाहा पाएर शव निकाल्न लगाएको थियो । मृतक तीनजनाको शव भक्तपुर अस्पतालमा राखिएको छ ।

पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिंगमा दुई गरी १५ ओटा घर भत्किएको छ भने बाढीले कति टहरा र माटोको घर भत्कायो ? भन्ने तथ्यांक आउन केही दिन लाग्ने प्रहरीको भनाइ छ ।

बाढीमा कति धनसम्पत्तिको क्षति भयो ? भन्ने यकिन तथ्यांक केही दिनपछि आउने बताइएको छ ।

पहिरोमा परेका र बास नभएकाहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीले पाल, भाडाकुँडालगायतका सामग्री वितरण गरेको छ ।

त्यसैगरी, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुखहरुसहितको टोलीले बिहीबार बाढी, पहिरो र डुबान क्षेत्रको निरीक्षण गरेको छ ।

टोलीले चाँगुनारायण नगरपालिकाको कुइँकेलगाउँमा पुगेर मनोहरा नदीले कटान गरी पुर्‍याएको क्षतिको अनुगमन गर्‍यो ।

धार परिवर्तन गरी बस्तीनजिकै आएको मनोहरा नदीको कटानले बस्ती जोखिममा पारेकाले तत्कालै बस्ती सुरक्षित गर्न आवश्यक पहल थाल्न स्थानीयवासीले टोलीसँग माग गरेका छन् ।