५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


विश्व क्रिकेट लिगमा नेपालको लगातार दोस्रो जित, पारस र शरदले रचे कीर्तिमान


0
Shares

काठमाडौं, वैशाख ६ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

सोमबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियामाथि लगातार दोस्रो जित हासिल गर्दै नेपालले कीर्तिमान बनाएको छ ।

यसअघि, स्कटल्यान्ड र पपुवा न्यूगिनीसँग भएका चारओटै खेल हारेको नेपालले नामिबियाविरुद्ध भने दुबै खेल जितेको हो ।

नामिबियाविरुद्ध शनिबार पहिलो खेल ५ विकेटले जितेको नेपाल दोस्रो खेलमा ३ विकेटको जित हासिल गर्दै ८ टिम सहभागी लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।

नामिबियाविरुद्धको दोस्रो खेलमा २४० रनको चुनौती नेपालले एक बल खेल्न बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्‍यो ।

कप्तान पारस खड्काले कप्तानी इनिङ्स खेल्नेक्रममा ९४ बलमा ७ छक्का र ५ चौकाको मद्दतले १०३ रन बनाए । ‘ए लिस्ट’मा पारसको यो कीर्तिमानी पहिलो शतक हो ।

पारसले करियरमा शतक संख्यालाई दुई पुर्‍याएका छन् । ए लिस्टमा शतक बनाउने पारस दोस्रो खेलाडी हुन् । यसअघि, अनिल मण्डलले स्कटल्यान्डविरुद्ध शतक बनाएका थिए ।

त्यस्तै, पारससँग तेस्रो विकेटका लागि कीर्तिमानी १६७ रनको साझेदारी गर्नेक्रममा शरद भेषावकरले अविवित ७४ रन जोडेका छन् ।

यसअघि, नामिबियाविरुद्धको पहिलो खेलमा शरदले अविजित रहँदै ५० रन जोडेका थिए । शरदले ए लिस्टमा लगातार दोस्रो अर्धशतक बनाउने नेपाली खेलाडीको कीर्तिमानसमेत रचेका छन् ।

यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा २३९ रन बनाएको थियो ।

शक्ति गौचन, बसन्त रेग्मी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।

यो खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमेत कीर्तिपुर मैदानमा पुगेका थिए ।

लगातार दुई जितसँगै नेपाल विश्वकप एक दिवसीय क्रिकेट छनोट खेल्ने सम्भावना बढेको छ ।

आठ टिम सहभागी लिगमा शीर्ष चार स्थान ओगट्ने राष्ट्रले एक दिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्ने अवसर पाउने छन् ।