
काठमाडौं, वैशाख ६ । सेतो मच्छिन्द्रनाथको रथयात्रा सोमबार सम्पन्न भएको छ ।
गत बिहीबार जमलस्थित तीनधारा पाठशाला अगाडि रथारोहण गराएपछि सुरु भएको रथयात्रा सोमबार सम्पन्न भएको हो ।
लगनटोलस्थित मच्छिन्द्रनाथकी आमाको परिक्रमा गराइसकेपछि सेतो मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर खटमा राखी नगर परिक्रमा गराइ जनबहालबाट मन्दिर लगिएको थियो ।
प्रत्येक वर्ष चैतशुक्ल अष्टमीका दिन जनबहालबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा ल्याएर रथारोहण गराउने गरिन्छ । जात्राको पहिलो दिन रथलाई रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्याइन्छ ।
बृद्ध–बृद्धाहरुलाई दर्शन गराउनका लागि आर्या अवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई रथमा नगरपरिक्रमा गराउने चलन छ ।
किंबदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए ।
उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याइ जनबहालमा स्थापना गरिएको किंम्बदन्ती छ । सोही परम्पराअनुसार जमलमै रथ बनाउने गरिएको हो ।
काठमाडौंको जनबाहल र काभ्रेको नालामा रहेको सेतो मच्छिन्द्रनाथ तथा ललितपुर बुंगमती र चोभारको रातो मच्छिन्द्रनाथ गरी नेपालमा चारओटा मच्छिन्द्रनाथ रहेका छन् ।
धार्मिक सहिष्णुताको प्रतीक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्ध महायन तथा बज्रयान सम्प्रदायले आर्य अवलोकितेश्वरकोरुपमा पुज्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्