
-प्रज्ञा तिमिल्सिना, ईमेज
काठमाडौं, बैशाख ७ । नेपालमा क्यान्सरबाट वर्षेनी हजारौं मानिसको मृत्यु हुने गरेको छ । शहरी क्षेत्रका मानिस यो रोगबाट बढी प्रभावित हुने गरेका छन् ।
सूर्तिजन्य पदार्थको सेवन, धूलो, धुँवा र खानपानका कारण शहरी क्षेत्रका मानिस फोक्सोको क्यान्सरबाट बढी प्रभावित हुने गरेका छन् । तर क्यान्सर रोग न्यूनिकरण गर्न सरकारी क्षेत्रबाट खासै पहल भने हुन सकेको छैन् ।
नेपालमा बढ्दो शहरीकरण सँगै क्यान्सर रोगका विरामीको सख्या बढ्दै गएको छ । सूर्तीजन्य पदार्थको सेवन, धुँवा, धुलो, अव्यवस्थित खानपान र जीवनशैलीका कारण मानिसमा क्यान्सर रोगको खतरा बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।
क्यान्सर रोग न्यूनिकरण गर्न क्यान्सर रोग बारे थुप्रै कार्यक्रम सञ्चालन भए पनि त्यो प्रभावकारी हुन सकेको छैन । दिन प्रतिदिन क्यान्सर रोगका विरामी संख्या भने बढ्दै गएको छ ।
नेपालमा क्यान्सर रोगीको एकीन तथ्यांक छैन । विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा गरेको अध्ययनले नेपालमा वर्षेनी १४ हजार ३ सय मानिसको मृत्यु क्यान्सरका कारण हुने गरेको देखाएको छ ।
क्यान्सरको उपचार गर्ने राम्रो पद्धतिको अभाव हुँदा यस समस्या बढ्दै गएको छ । पहिलो चरणमै क्यान्सरको पहिचान गर्न नसक्नु र रोगी खुलेर आउन नसक्ने समस्याका कारण पनि नेपालमा क्यान्सरका विरामी बढ्दै गएको हो । मादक पदार्थ र सूर्तिजन्य पदार्थ प्रयोग गर्नेमा ५० प्रतिशतलाई क्यान्सर लाग्ने चिकित्सकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्