३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


‘स्ववियू कुनै हालतमा गुम्न दिने छैनौं’


0
Shares

काठमाडौं, बैशाख ८ । नेवि संघका काठमाडौं उपत्यकाका क्याम्पस इकाइ सभापति तथा पदाधिकारीहरुको भेलाले स्ववियू निर्बाचन तत्काल गराउन दबाब दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयले उम्मेद्वारको उमेर हदबन्दी कायम गराउने प्रक्रिया अगाडी बढाएपछि अनिश्चित बनेको स्ववियू निर्बाचनको मिति यथाशिघ्र तोक्न भेलाले माग गरेको छ ।
उमेर हदबन्दीका कारण विद्यार्थीको इतिहास बोकेको स्ववियू निर्बाचन गुम्न नदिन दबाब अभियान सुरु गरिएको भेलाका संयोजक डुजाङ शेर्पाले बताए ।

‘उमेर हदबन्दी लगाउँदा पनि निर्बाचन हुन्छ भने त्यसका लागि तयार रहन हामीले केन्द्रीय नेतृत्वलाई दबाब दिनेछौं तर स्ववियू गुम्न दिने छैनौं,’उनले भने ।

उपत्यका भित्रका करिब दुईदर्जन क्याम्पस इकाइका नेवि संघ सभापति तथा पदाधिकारीहरुको उक्त भेलाले तत्काल निर्बाचन गराउन त्रिवि उपकुलपतिलाई ज्ञापन पत्र बुझाउने तथा शैक्षिक क्यालेन्डर लागु गर्न दबाब दिने बताए ।

तर, नेविसंघको केन्द्रिय समिति नै उमेर हद लागु गर्ने या नगर्नेमा विभाजित देखिएका बेला नेविसंघका विभिनन क्याम्पसमा क्रियाशिल नेताहरुले भने उमेर तोकिएपनि चुनावमा जानुपर्ने भन्दै दबाब दिएका हुन् । उनीहरुले स्ववियु चुनाव कुनै हालतमा गर्नुपर्ने भन्दै केन्द्रिय समितिलाई समेत त्यसका लागि लाग्न आग्रह गरेका छन् ।

ग्रामिण आदर्श क्याम्पस, बालाजुका नेविसंघ इकाई सभापति सुशील भट्टले  उमेर हद लागु भएपनि नेविसंघ स्ववियु चुनावमा जानुपर्ने बताए । “स्ववियु उमेर हदबन्दी र प्रणालीका कारण रोकिनुहुँदैन,” उनले भने,“२८वर्षे उमेरहद नेविसंघले नमानेका कारण स्ववियु चुनाव रोकिँदा राम्रो सन्देश जाँदैन । यसमा केन्द्र सचेत हुनुपर्छ ।”

कार्यक्रममा थापाथली क्याम्पसका पूर्व स्ववियु सभापति सुदिप शर्मा, कोटेश्वर क्याम्पसका निवर्तमान स्ववियु सभापति महेन्द्र भट्टराई, पशुपति क्याम्पसका पूर्व इकाई अध्यक्ष गोपीकुमार शिवाकोटी, ललीतकला क्याम्पसका इकाई अध्यक्ष उमेश थापा, एड्भान्स इन्जिनियरिङ कलेजका इकाई अध्यक्ष शिव भट्टराई, थापाथली क्याम्पसका इकाई अध्यक्ष नारायणकुमार घिमिरेसहित करिब २ सय विद्यार्थी नेता सहभागि थिए ।