
गोरखा, वैशाख ८ । आरुघाटबाट गोरखा सदरमुकामका लागि छुटेको यात्रुबाहक बसमा यातायात व्यवसायी समिति गोरखाआबद्ध युवाले ढुंगा प्रहार गर्दा चालक, यात्रु र प्रहरी घाइते भएका छन् ।
कच्चीरुटमा ‘सिन्डिकेट’ लाद्दै समितिका व्यवसायी र मजदुरले बुधबार मध्याह्न फिनामको धनबासेमा यात्रुबाहक बसमा ढुंगामुढा गरेका हुन् ।
आरुघाट–गोरखा रुटमा आरुघाट यातायात प्रालिले बस सन्चालन गरेपछि त्यसको विरोधमा यातायात व्यवसायी समिति गोरखाले गाडी तोडफोड गरेका हुन् ।
समितिका पदाधिकारी, मजदुरले आरुघाट प्रालिका अध्यक्ष खड्कबहादुर आलेको ना५ख ७२११ नम्बरको बसमा ढुंगा हानेका हुन् । बसको अगाडिको सिसा फुटेको छ ।
त्यस्तै, बसमा यात्रारत् यात्रु बगुवाकी बुद्धलक्ष्मी श्रेष्ठ, आरुचनौटेकी लीला गुरुङ, गुम्दा– ५ लप्सिबोटका कान्छा गुरुङ, आरुघाटका अर्जुन गुरुङलगायत यात्रुहरु घाइते छन् । उनीहरुको हातगोडालगायतका अंगमा चोटपटक लागेको छ ।
गोरखा यातायात सम्बद्ध युवाले आरुघाट यातायातसम्बद्ध युवा चढेको ग६प ७६५६, बा६०प ५१५६, बा५०प ६९०२ र बा५५प ८१०५ नम्बरको मोटरसाइकल तोडफोड गरी फुटाएका छन् ।
घाइते यात्रु बुद्धलक्ष्मीले भनिन्–‘असजिलो बाटोमा गुडिरहेको बसमाथि एक्कासि ढुंगा हाने । उच्छिटिएको ढुंगा र सिसाको टुक्राले हातमा चोट लाग्यो ।’ उनी नातिको विवाहका लागि चितवन जान सो बस चढेकी थिइन् ।
अर्की घाइते यात्रु लीला गुरुङले व्यवसायीको झगडामा यात्रुलाई मुछिएकामा दुःख लागेको बताइन् । उक्त बसका चालक रामबहादुर रोका पनि घाइते भएका छन् ।
यात्रुबाहक बसमा ढुंगामुढा भएको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीलाई यातायात व्यवसायी समिति गोरखासम्बद्ध युवाले हातपात गरेका थिए ।
प्रहरी जवान सिम्रन रायको टाउकामा चोट लागेको छ । उनको गोरखा जिल्ला अस्पतालमा उपचार गरिएको छ ।
प्रहरीले यातायात व्यवसायी समिति गोरखाका दिनेश तमु र नरेश बरामलाई घरेलु हतियारसहित पक्राउ गरेको छ ।
यस्तै, दुबै समितिका युवाबीच सडकमै झडप भएपछि प्रहरीले लाठी चलाउँदा यातायात व्यवसायी समितिका पूर्वसचिव नारायण दानी घाइते भएका छन् । झडपपछि गोरखा–आरुघाट सडकमा बस चलेको छैन ।
यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष रामहरि केसीले आफूहरुले आरुघाट प्रालिको बस तोडफोड गरेको स्वीकार गरे । केसी सामुदायिक सेवा केन्द्र (प्रहरी)को गोरखाका सचिव हुन् ।
प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बस तोडफोडमा संलग्न हुनेलाई कारबाही गरिने बताएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्