२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


नाबालिकालाई विवाह गर्न खोज्ने पक्राउ


0
Shares

पर्वत, वैशाख ९ । उमेर नपुग्दै बालिकालाई विवाह बन्धनमा बाँध्न तयारी गरेका महिला र पुरुष प्रहरीको फन्दामा परेका छन् ।

उत्तरी पर्वतको धाइरिङ गाविस–१ स्थायी घर भई कुश्मा नगरपालिका–४ स्थित मामाघर बस्दै आएकी १४ वर्षीय बालिकाको विवाह गर्न तयारी गरिरहेका बालिकाकी माइजु वर्ष २२ की जमुना पौडेल र विवाह गर्न खोज्ने ढिकुरपोखरी–५ कास्कीका २२ वर्षीय युवा पक्राउ परेका हुन् ।

सानै उमेरमा बाबुको मृत्यु भएको र गरिबीका कारण आमाले लालनपालन गर्न नसकेपछि पीडित बालिका दुई वर्षदेखि मामाघर बस्दै आएकी थिइन् । बालिकाकी आमा तथा उनका नातेदारसमेतलाई थाहै नदिइकन हतारहतारमा आफ्नी नाबालिक भान्जीको विवाह गराइदिन खोज्ने जमुना पौडेल र उमेर नपुगेकी बालिकालाई विवाह गर्न खोज्ने विकास पौडेललाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

उनीहरुले मङ्गलबार राति नै पोखरातर्फ लगेर विवाह गर्ने तयारी गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

बालविवाहजस्तो सामाजिक अपराध गर्न खोज्नेलाई पक्राउ गरी बालिकालाई आफन्तको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक गङ्गा पन्तको भनाई छ । (रासस)