२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


किशोरी मृत फेला, एक युवक पक्राउ


0
Shares

विनोद सिंह विष्ट

बैतडी, जेठ ३ । बैतडीको मेलौली नगरपालिकाकी एक किशोरीको मृत्युपछि एक युवकको नाममा किटानी जाहेरी दर्ता भएको छ । मेलौली नगरपालिका–७ बनालीकी १९ बर्षीया सावित्री चन्दको मृत्यु प्रकरणमा सोधपुछका लागि प्रहरी नियन्त्रणमा रहेका मेलौली नगरपालिका १ का प्रशान्तसिंह क्षेत्रीको नाममा किटानी जाहेरी दर्ता भएको हो ।  

क्षेत्रीले चन्दलाई जबरजस्ती करणी गरी आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाईएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एव प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । क्षेत्रीको नाममा किटानी जाहेरी दर्ता भएपछि जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । बुधबार घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा सावित्रीको शव फेला परेको थियो ।

सावित्रीको कोठामा खानतलासी गर्दा पक्राउ परेका क्षेत्रीको फोटो, नागरिकता र दशहजार नगद फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाको बिषयमा सत्यतथ्य छानविन हुनुपर्ने, दोषी भनिएका व्यक्तिलाई हदैसम्मको कानुनी कारवाही हुने ग्यारेन्टी हुनुपर्ने, शव जलाएपछि प्रमाण नष्ट हुन सक्ने आशंका रहेकाले शव बुझ्न नमानेको मृतकका आफन्तको भनाइ छ ।

सावित्री मणिलेक मावि काँडा मेलौलीमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन् ।