
म्याग्दी, वैशाख १० । म्याग्दीका पत्रकारको नेतृत्वमा धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण कालीगण्डकी नदीको सरसफाइ अभियान सुरु भएको छ ।
खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) पत्रकार मञ्चको अगुवाइमा कालीगण्डकी र म्याग्दी नदीमा बढ्दो प्रदूषण नियन्त्रणका लागि सर्वपक्षीय सहभागितामा अभियान सुरु भएको हो ।
तटीय क्षेत्रमा बसोबास र जनघनत्वसँगै बढ्दो फोहोर तथा प्रदूषण नियन्त्रणका लागि स्थानीयवासीलाई सचेत र सरोकारवालालाई सक्रिय बनाउन हरेक हप्ताको बिहीबार बिहान नदी किनारमा सरसफाइ गरिने मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यले जानकारी दिए ।
अभियानको पहिलो दिन बिहीबार बेनीको कालीपुल, बसपार्क क्षेत्र र कालीगण्डकी किनारमा फालिएको दश मेट्रिक टनभन्दा बढी फोहोर सङ्कलन गरेर नष्ट गरिएको छ । बेनी–गलेश्वर सडकको डल्लेपिपलदेखि कालीपुलको मोटरेबल पुलसम्म दुई घन्टासम्म भएको सरसफाइ कार्यक्रममा करिब एक हजार जनाको सहभागिता थियो ।
अभियानमा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यलगायत कार्यालय प्रमुख, राजनीतिककर्मी, नेपाली सेनाको इन्द्रबक्स गण, जिल्ला प्रहरी कार्यालय, कर्मचारी, सञ्चारकर्मी, उद्योगी–व्यवसायी, टोल सुधार समिति, विद्यार्थी, सामाजिक सङ्घसंस्था, क्लब र आमा समूहले सहभागिता जनाएका थिए ।
त्यस्तै, उक्त अभियानमा राष्ट्रिय कलाकार मनोज गजुरेल, मिलन अमात्य, जानकी बोहोरा, सुरेन्द्र केसी लगायतले समेत सहभागिता जनाएका थिए । अभियानले फोहोर जथाभावी फाल्नेहरुलाई सचेत बनाउने र स्थानीय निकायलाई फोहोर व्यवस्थापनमा मद्दत पुगेको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताए ।
विश्वमा शालिग्राम शिला पाइने एक मात्र मुस्ताङदेखि त्रिवेणीसम्म बग्ने कालीगण्डकी नदीमा हिन्दू धर्मावलम्बीले स्नानका साथै पर्यटकले जलयात्रा गर्छन् । म्याग्दी जिल्लाभित्र कालीगण्डकी र म्याग्दी नदीको किनारलाई सफा राख्नका लागि सरसफाइ अभियानका साथै बेनी नगरपालिकासँगको सहकार्यमा बोर्ड राख्ने, पत्रपत्रिका, रेडियो, अनलाइन, सामाजिक सञ्जाल र टेलिभिजन लगायतका सञ्चारमाध्यमबाट सन्देश प्रकाशन प्रसारण गरिएको अभियानका संयोजक गोपाल छन्त्यालले बताए ।
तटीय बस्तीका बासिन्दाले बजारको फोहोर र ढल नदीमा विसर्जन गर्ने क्रमसँगै वातावरण र जलप्रदूषण बढ्दै गएको थियो । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि बजारमा दैनिक ट्र्र्याक्टर परिचालन र ल्याण्डफिल साइटको खोजी गर्नुपर्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले बताए । (रासस)
प्रतिक्रिया दिनुहोस्