२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


तिब्बत जोड्ने बाटो आफैं खन्न थाले ओलाङचुङगोलाबासी


0
Shares

रविन भट्टराई-
काठमाडौं, वैशाख १० । सरकारले चीनसँगको सीमा नाका खोल्न चासो नदेखाएको भन्दै ताप्लेजुङको ओलाङ्चुङगोलाबासी आफैँ बाटो खन्न जुटेका छन् । बिहानै कुटो, कोदालोसँगै खाना र खाजा बोकेर उनीहरु बाटो खन्न निस्कने गरेका छन् ।

ताप्लेजुङको ओलाङ्चुङगोलादेखि चीनको तिव्बतसम्म जाने सडक खोल्न उनीहरु दिनरात नभनी लागि परेका छन् । नाका खोल्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरु आफैँ कुटो, कोदालो बोकेर सडक निर्माणमा जुटेका हुन् ।

बिहान हुनासाथ खाना, खाजा र सडक खन्न घरेलु औजार लिएर घरबाट निस्कने उनीहरु दिनभर सडक खनी साँझमात्र घर फर्कने गरेका छन् । उनिहरुले हालसम्म ओलाङ्चुङगोलाबाट तिब्बततर्फको दुई किलोमिटर सडकको ट्रयाकसमेत खनिसकेका छन् । सडक खन्न महिला, पुरुष सबै जुटेका छन् ।

उनीहरुलाई सडक खन्न आवश्यक औजार खरिदका लागि अमेरिकामा रहेका केही स्थानीयले समेत आर्थिक सहयोग गरेका छन् । बाटो खन्ने काममा सरकारले बेवास्ता गरी यस क्षेत्रका स्थानीयलाई अपहेलना गरेको उनीहरुको गुनासो छ ।

नेपाल तर्फबाट सडक नपुग्दा र चीनको तिब्बतसँग जोडिएको ओलाङ्चुङगोला नाका पनि नखुल्दा सदरमुकामदेखि तीन दिनको पैदल दुरीमा रहेको ओलाङ्चुङगोलाका स्थानीयको दैनिकी कष्टकर बनेको छ । उनीहरु अझै पनि ढाकर र चौरीलाई बोकाएर चीनको तिब्बतबाट दैनिक उपभोग्य सामाग्री ल्याएर जीवनयापन गरिरहेका छन् ।

ओलाङ्चुङगोला देखि १९ किलोमिटरको दुरीसम्म चीनतर्फको सडक आएको र यस सडकसम्म गोलाबाट मोटरबाटो लैजान सके नेपालतर्फको सडक निर्माण भईरहे पनि तिब्बतबाट दैनिक उपभोग्य बस्तु ल्याउन सकिने छ । सरकारको ध्यानाकर्षण गर्न आफ्नै प्रयासमा बाटो खनिरहेका उनीहरुको मागलाई सम्बोधन गरी ओलाङ्चुङगोलासम्म सडक सञ्जाल पुर्‍याई नाखा खोल्न सके गोलाबासीलाई राहत त मिल्ने नै छ, यस मार्ग हुँदै त्रिदेशीय व्यापार पनि गर्न सकिने भएकाले सरकाले चासो दिन आवश्यक छ ।