
काठमाडौं, बैशाख १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा राखेका हिमाल मिडियाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई आज अदालत लगिँदैछ ।
अकस्मात् स्वास्थ्य अवस्था बिग्रेपछि शनिबार देखि वीर अस्पतालको सघन उपचार कक्षमा उपचाररत उनलाई म्याद थपका लागि विशेष अदालत लैजाने तयारी गरिएको छ ।
अस्पतालको चिकित्सकको अनुमति दिएपछि अदालत लगिने तयारी गरिएको अख्तिायार प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिए ।
उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि दीक्षितलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको थियो । अनुसन्धानमा असहयोग गरेको भन्दै अख्तियारले दीक्षितलाई शुक्रबार पक्रेको थियो ।
यसैबीच, भारत, अमेरिका, बंगलादेशसहित बिभिन्न देशमा कार्यरत तीन दर्जनभन्दा बढी लेखक, बुद्धिजीवि, पत्रकार तथा सम्पादकहरुले पत्रकार दीक्षितलाई तत्काल रिहा गर्न नेपाल सरकारसमक्ष माग गरेका छन् ।
विज्ञप्ति निकाली उनीहरुले पत्रकार दीक्षित सच्चा मानवाधिकारवादी तथा सक्रिय पत्रकार भएको बताएका छन् । उनीहरुले दक्षिण एशियामैं मिडियामाथि सरकारी दबाब र हस्तक्षेप बढिरहेको भन्दै दीक्षितको गिरफ्तारीलाई पूर्वाग्रहको संज्ञा दिएका छन् ।
उनीहरुले दीक्षितलाई रिहा गर्दै पूर्वाग्रहरहित ढंगले, पारदर्शी भएर उनीमाथि लगाएका आरोपहरुको छानबीन गर्न नेपाल सरकारसमक्ष माग गरेका हुन् ।
यसैगरी नेपाल प्रेस युनियनले पनि अख्तियारले दीक्षितलाई गरेको पक्राउ पूर्वाग्रहपूर्ण रहेको उल्लेख गर्दै विरोध गरेको छ । दीक्षितको पक्राउले अख्तियारबाट नै अख्तियारको दुरुपयोग भएको आशंकालाई बल दिएको युनियनले जनाएको छ ।
पत्रकार दीक्षितले पनि अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूमाथि पूर्वाग्रही भई बलात रूपमा क्षेत्राधिकारको दायर गरेको आरोप लगाउँदै आएका छन् ।
दीक्षित लगायत मानवअधिकारकर्मीहरुले जनआन्दोलन दबाउन भूमिका खेलेको भन्दै कार्कीलाई अख्तियारको प्रमुख नबनाउन लबिङ गरेकामा आफूविरुद्ध प्रतिशोध साँधेको जिकीर दीक्षितले गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्