२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


अनि घर गर्ल्याम्म ढल्यो, दैलो चिहानजस्तै बन्यो


0
Shares

 अनुभूति
–हरि दुलाल

परम्परागत खेती आकाशे पानीको भर पर्नु पर्छ । बेलामा रासायनिक मल पाईदैन । खडेरीले वालीनाली भुसुक्कै डढ्ने गर्छ, अनेकौं रोग लाग्छ । किटनाशक औषधी भनेको बेलामा पाईदैन । अलि अलि उब्जेको अन्न वाँदरको  हुल आएर कुन वेला निमिट्यान्न पारिदिन्छ ठेगान हुन्न । वस्तु भाउ पाल्न उतिकै गाह्रो छ एउटा भैंसी पाल्यो वर्षमा ५/६ महिना दूध दिन्छ अलिकती खायो अरु बेचेर नुन, तेल, चाडपर्व तिथी श्राद्ध  गर्न र अन्य घर खर्च समेत त्यसैबाट चलाउनुपर्छ  ।

वर्षदिन भरि वुवा आमाले दशनंग्रा खियाएर पसिना बगाएपनि हम्मे हम्मे वर्षमा ६०–७० हजारको धान मंसिरमा वेच्ने गरेका छन् । सामान्यतया हाम्रो घरको वार्षिक  आम्दानी कमाई त्यति नै हो ।  धेरै वर्षको यस्तै आम्दानी र कमाईवाट अझ भनौ गाँस कटाएर जम्मा गरेको पैसाले केही वर्ष अघि मात्र वनाएको एक घर र दुई गोठ गल्र्याम्म ढलेको आजैको दिन हो । मेरा वावु आमाको बर्षौदेखिको मिहेनत रगत र पसिना निमेस भरमै स्वाह भएको आज ठिक एक वर्ष भएछ ।

आफ्नै मझेरी पुरिदा, घरको दैलो चिहान जस्तै बन्दा मेरा वावु आमाको मन कति पोल्यो होला एकवर्ष पछि आज सम्झदा पनि मेरो मन भक्कानिन्छ ।  शनिवारको दिन विहान ९ वजेको रेडियो कार्यक्रम सकेर न्यूज डेक्समा बसेर  किर्वोडमा औँला दौडाउदै थिएँ । एक्कासी हल्लियो भागेर जसोतसो वाहिर  निस्किएँ । जमिनमा टाउको निहुराएर राम राम भन्नु शिवाय अरु केही रहेन । परिवारसंग सम्पर्क विहिन हुदैँ कोलाहल काठमाडांमा म पनि केही समय कुहिरोको कागजस्तो हराएँ । के गर्ने कसो गर्ने भन्ने भयो । केही समय पछि कार्यालयको फोनवाट घरमा फोन गर । मैले यतिको उमेर सम्म आईपुग्दा वुवाको रुवाई कहिले सुनेको थिइँन, वुवाले रुदैं सबैजना सकुशल रहेको खबर दिनुभयो ।

मन अलिकती हलुका जस्तो त भयो साथै वुवाको त्यो चित्कारले मन यति अमिलो र भारी भयो कि म आज त्यो कल्पना समेत गर्न सक्दिन । त्यसपछि गोल्फुटार  स्थित डेरामा आएँ श्रीमती बाटोमा निस्किएर वसेकी रहिछन् । अनि अरु आफ्न्तको खवर बुझने काम भयो, ससुरालीको खवर वुझेँ, सबैजना सकुशल छन् भन्ने खवर पाएँ । मामाघरबाट भने दुखद खवर आयो । माईजु र ६ वर्षकी भान्जी माईजुकी नातिनी घरले पुरिएछन् । यो दुखद खबर सुन्ने वितिक्कै गृह जिल्ला सिन्धुपाल्चोक लागियो । निरन्तरको भूकम्पको झड्काको प्रवाह नगरि भत्किएको वाटो ढुङगा र रुख पन्छाउदै जोखिम मोलेर मेलम्ची सम्म पुगियो, त्यहाँबाट लगभग एक घण्टा माथी ग्याल्थुम मामाघर पुगियो ।

जता हेरेपनि लाश, रुवावासी, कोलाहल  र यता नि पुरिएका लाश  उतानि पुरिएका लास, निकाल्न समेत मान्छ्रे छैन । माईजुको लाशलाई त्यो दिन निकाल्न सकिएन भोली पल्ट विहानै  गएर भग्नावशेष पन्छाउन सुरु गरियो । लगभग आधा घण्टाको प्रयास पश्चात भान्जीलाई अङगालो हालेको अवस्थामा माईजु र भान्जीको  शव निकालियो । दाहसंस्कार सकेर  साँझ घर मेलम्ची कटुन्जे पुगेँ । गाउँले कसैको आँखा ओभानो थिएन, आमाको अङ्गालोमा बसें । मान्छे वाँचियो आफैले वनाएको घर हो वनाउँला भन्दै मैले वुवा आमालाई ढाडस दिएँ ।

जस्ताको टहरामुनि परिवारका सदस्यहरु घाटबाट फर्किएका मलामी जस्तो फुङ्ग उडेको अनुहार लिएर थकित र चिन्तित मुद्रामा बसिरहेका थिए । एकपट्टीभत्किएको घर एउटा कुनामाग्यासको चुलो अर्कोपट्टी सुत्नकालागि प्रयोग गरिने कपडाहरु एकछेउमा चामलको पोको एक गाग्रीपानी र केही तरकारीहरु थिए । आमाले एउटा थालपखालेर खाना राखिदिनुभयो,एक कुनामा उभिएर खाना खाएँ त्यति बेला रातको १० बजिसकेकाले खानाखाएसँगै सुत्ने तयारी भयो। टहरामुनि गुन्द्री ,गुन्द्रीमाथि लगाइएको बिस्तारा, ब्ल्याङकेट तानेर एकछेउमा ढल्किएँ ।

भत्किएको घरबाट निकालिएको पुरानो जस्ता भएर होला सुतेको ओछ्यानबाट सजिलै आकाशका तारा र जुन देखिन्थ निदाउने प्रयास गरेँ तर अहँ सकिन मन भक्कानियो, कसरी पखालियौं हामी, प्राकृतिकबिपत्तिले उठ्नै नसक्ने गरी गरल्याम्म ढलाइदियो सानातिना गरेर भएका तिन घर भत्किए । भकारीमा राखेको अन्नपात माटोमा मिलीन भयो । सँगसँगै लत्ता–कपड़ा पुरिए । भाँडाकुँडा कुच्चीए, उफ ! परिवारको मिहेनत र सपना ढल्यो । सुन्दर घर रमणीय लाग्ने त्यो खेल्ने आँगन कसरी चिरिप्प भयो ? आफ्नै अनुहार हेर्ने ऐना झरयामझुरुम् फुटेजस्तो मनमा यस्तै असंख्य तरङ्गहरुले लातमार्दामार्दै विहानीपख आँखा लागेछ ।  भोलिपल्ट विहान  गाउँमा उस्तै निराशा थियो । घर भत्किएर खानेकुरा सबै पुरिएको थियो, खाने कुरा थिएन । कुनै पनि राहत सामग्री पनि त्यहाँ पुगेको अवस्था थिएन ।

त्यो देखेर परिवारबाट नजान आग्रह गर्दा गदैँ पनि म राहतका लागि राजधानी आएँ । सबैको सहयोगले गर्दा म र मेरो गाउँले मित्र देवराज दुलाल मिलेर केही दिनमा २ गाडी राहत सामाग्री लिएर गाउँ गयौं । त्यतिबेलासम्म गाँउमा राहतको नाममा केही पुगेको थिएन । पछि भने जान थाल्यो र स्थिती पनि सामान्य तर्फ उन्मुख भयो । आज एक वर्ष पुग्यो व्यथा उस्तै छ । जस्ताको टहरा, चर्काे घाममा वस्न सकिने स्थिती छैन । हुरिले कतिको उडाई सक्यो कतिको कहिले लाने हो । वर्षायाम कसरी कटाउने त्यो चिन्तामा छन् यतिवेला आम भूकम्पपीडित ।

सिन्धुपाल्चोकमा मात्र भूकम्पका कारण ३ हजार ५ सय ७० को ज्यान गयो । ६३ हजारभन्दा बढी घरहरु पूर्णरुपमा ध्वस्त भए । राहतको नाममा अहिले सम्म भूकम्प पीडितले अस्थाई टहरा निमार्णका लागि १५ हजार र न्यानो कपडाका लागि भनेर १० हजार गरि जम्मा २५ हजार वाहेक अरु केही पाएका छैनन् । अव अस्थाई राहत र थोरै थोरै रकम भन्दा पनि भूकम्प पीडितले स्थाई खालको वास खोजिरहेका छन् सरकारले पुनर्निर्माणको गफ र आश्वासन दिए पनि पुनर्निर्माणको ठोसकाम वर्ष दिन पुग्दा पनि केही हुन सकेको छैन ।  सबै जना आशमा छन् के मेरा वावु आमा र मेरा जस्तै लाखौ भूकम्प पीडित वावु आमाको बर्षौको  मेहेनत ढलेको वर्ष दिन पुग्यो, अव फेरी त्यो मिहेनतको घर कहिले ठडिन्छ त्यसका लागि अझै कति बर्ष कुर्नु पर्ने हो सरकार  ?