
काठमाडौं, बैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कामले आजैबाट गति लिने बताएका छन् ।
भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणको कामलाई आज स्वयम्भूबाट सुरुवात गर्दै प्रधानमन्त्री ओलीले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण चाँडै हुने विश्वास व्यक्त गरे ।
उनले सरकारको पहिलो प्राथमिकता जनतालाई सुविधायुक्त छानामुनी ल्याउने भएको भन्दै आफूले यसलाई गति दिन निर्देशन दिएको बताए ।
सरकार भूकम्पपीडितको गाँस, बास र कपासको व्यवस्थापनको लागि प्रतिबद्ध रहेको भन्दै उनले जनताका लागि केही गरेन भनेर दुखेसो गर्नु उचित नभएको पनि स्पष्ट पारे ।
नेपाली सम्पदा, धरोहरहरु विश्वकै उत्कृष्ट भएको भन्दै प्रधानमन्त्री ओलीले सम्पदाहरुको पुनर्निर्माणको कामलाई पुरातत्व विभागले अगाडि बढाउने बताए । प्रधानमन्त्री ओलीले सरकारले थालेको पुनर्निर्माणको कामलाई सहयोग गर्न सबैसँग आग्रह पनि गरे ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले भने पुनर्निर्माणको काममा ढिलाई भएको भन्दै सरकारसँग गुनासो गरेका थिए ।
प्रधानमन्त्री ओलीले स्वयम्भू क्षेत्रका क्षतिग्रस्त संरचना टासी गुल्म चैत्य, कर्मराज गुल्म, शान्तिपुर मन्दिर र प्रतापपुरको पुनर्निर्माण गरिने जानकारी दिए । स्वयम्भु क्षेत्रमा भूकम्पका कारण १७ वटाघर समेत क्षतिग्रस्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्