२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


अनुदान पाउनयोग्य तीन लाख घरधनीको सूची सार्वजनिक


0
Shares

काठमाडौं, वैशाख १३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पूर्णरुपमा घर क्षति भएका ११ जिल्लाका ३८३ गाविसमा अनुदान पाउनयोग्य घरधनीको सूची सार्वजनिक गरेको छ ।

तथ्यांक संकलन गरी अनुदान पाउनयोग्य तीन लाख ९६१ घरधनीको सूची भूकम्प गएको एक वर्ष पुगेकै मितिमा सार्वजनिक भएको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत् अनुदान पाउनयोग्य घरधनीको नाम सूची सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा पठाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिए ।

उनकाअनुसार अनुदान पाउनयोग्य घरधनीको संख्या ओखलढुंगामा १५ हजार पाँच, सिन्धुलीमा २१ हजार ११४, रामेछापमा ३० हजार ५१९, दोलखामा ४९ हजार ७५१, सिन्धुपाल्चोकमा ३५ हजार ३०८, काभे्रपलाञ्चोकमा ४० हजार २६४, नुवाकोटमा ३८ हजार २३५, रसुवामा पाँच हजार ४१७, धादिङमा २३ हजार ४४०, मकवानपुरमा सात हजार ४१२ र गोरखामा ३४ हजार ४९६ छ ।

तथ्यांक संकलनको बाँकी विवरण प्राप्त भएपछि अनुदान सम्झौताका लागि योग्य अन्य घरधनीको सूची पनि क्रमशः सार्वजनिक गर्दै लगिने प्राधिकरणले जनाएको छ ।

गत वर्ष वैशाख १२ र २९ गतेको भूकम्प एवं पटक–पटकको परकम्पले करिब आठ लाख घर पूर्णरुपमा क्षति भएको थियो ।

अनुदान सम्झौता भएपछि सरकारले तीन किस्तामा क्रमशः रु ५० हजार, रु ८० हजार र रु ७० हजार गरी रु दुई लाख भूकम्पपीडितलाई रकम वितरण गर्नेछ । रासस