
बर्दिवास, वैशाख १३ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार सार्वभौम संसदलाई छलेर कुनै अध्यादेश ल्याउने तयारीमा नरहेको प्रस्ट्याएका छन् ।
एकीकृत नेकपा माओवादीका सचिवसमेत रहेका मन्त्री पोखरेलले सोमबार महोत्तरीको बर्दिवास–४ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका छात्रछात्रालाई पाठ्यपुस्तक वितरणपछि सन्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।
सन्चारकर्मीसँगको कुराकानीमा मन्त्री पोखरेलले सरकार संसदको बर्खे अधिवेशन बोलाउने तयारीमा लागिसकेको जानकारी दिए ।
सरकार जनता र संसदप्रति उत्तरदायी रहेकाले लोकतान्त्रिक मूल्य मान्यतामा आँच आउन नदिन प्रतिबद्घ रहेको उनको भनाइ थियो ।
सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमबारे छलफल र अन्य तयारी बढाइसकेकाले अहिले अध्यादेशबारे सुनिने कुरा निराधार रहेको पोखरेलले बताए ।
संसद नचलेका बेला मुलुकको आवश्यकताका लागि तत्काल अध्यादेशबाट काम गर्नुपर्ने परिस्थिति आइपर्दा अध्यादेशको अभ्यास लोकतान्त्रिक प्रणालीकै अंग भएपनि सरकारले अहिले यतातिर नसोचेको मन्त्री पोखरेलले स्पस्ट पारे ।
मन्त्री पोखरेलले सोमबार विद्यालयका प्राथमिक तहका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण गर्दै अबका दुई दिनभित्र मुलुकका सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसक्ने गरी काम अघि बढाइएको जानकारी दिए ।
मन्त्री पोखरेलले सोमबारै बर्दिवास–१ स्थित देउराली उच्चमावि र बर्दिवास–३ स्थित जनजागृति राष्ट्रिय प्राथमिक विद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण गरेका थिए । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्