२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


प्रसूतिगृहको मुख्य भवन भत्काइँदै


0
Shares

काठमाडौं, वैशाख १३ । ‘गोरखा भूकम्प’ले चर्काएको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको चार तले मुख्य भवन भत्काउनेकार्य अन्तिम चरणमा पुगेको छ ।

जापानी सहयोग नियोग जाइकाले सोही स्थानमा पुनःनिर्माण गर्ने सम्झौता भएको भवन भत्काउन अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले सहयोग गरेको छ ।

जाइकाले सो स्थानमा तीनतले अत्याधुनिक भवन बनाउने भएको छ । आइओएमले अत्याधुनिक उपकरण प्रयोग गरी भवन भत्काइरहेको छ ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले भवन भत्काउने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कुल चार सय १५ शय्या भएको प्रसूतिगृह अस्पतालमा अहिले भत्काएको मुख्य भवनमामात्रै २६० शय्या रहेका थिए ।

त्यसमा बर्थिङ सेन्टर, ब्लर्ड बैंक, इमर्जेन्सी ल्याब, सुरक्षित गर्भपतन सेवा, पोस्ट–अप वार्ड, जनरल बेड, क्याबिन, पूर्वप्रसूति वार्ड तथा शिशुका लागि एनआइसियुसमेत थियो ।

भूकम्पले चर्काएपछि ती सबै विभाग पूर्वतर्फ रहेको एकेडेमिक ब्लक तथा उत्तर र पश्चिमतर्फका भवनमा सारेर सन्चालन गरिँदैआइएको छ ।

निर्देशक गौतमले नयाँ भवन भत्काइसकेपछि आगामी असारदेखि भवन निर्माणको कार्य थालनी हुने र सुरु गरेको १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको बताए ।

नयाँ भवन बनेपछि त्यहाँ इमर्जेन्सी कक्ष, लेबर रुम (प्रसूति कक्ष) बर्थिङ सेन्टर, अप्रेसन थिएटर (डेलिभरी र पाठेघर) इमर्जेन्सी ओटी, पोस्ट–अप, ब्लड बैंक, इमर्जेन्सी ल्याब, एनआइसियुसहित ४० ओटा शय्यासमेत रहने बताइएको छ ।

भवनमा एकेडेमिक तथा फ्याकल्टिसमेत रहने भएको छ । करिब एक अर्ब ५० करोड रुपैयाँको लागतमा बनाउन लागिएको सो भवनका लागि चाहिने अत्याधुनिक उपकरणसमेत जाइकाले उपलब्ध गराउने समझदारी भएको छ । रासस

फाइल फोटो