
काठमाडौं, वैशाख १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘पत्रकार कनकमणि दीक्षित पक्राउ परेको विषयलाई केही सन्चारमाध्यम तथा संघ–संगठनहरुले अख्तियारमाथि नकारात्मक टिप्पणी गरेको’ भन्दै दुःख व्यक्त गरेको छ ।
अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ‘दीक्षित पक्राउ प्रकरणबारे केही सन्चारमाध्यमहरुले अतिरन्जित ढंगले समाचार सम्प्रेषण गरेको’ भन्दै दुःख व्यक्त गरेका हुन् ।
हिमाल खबर पत्रिकाका प्रकाशकसमेत रहेका दीक्षितलाई गत शुक्रबार अख्तियारले स्रोत नखुलेको सम्पति छानबिनमा असहयोग गरेको भन्दै पक्राउ गरेको थियो ।
दीक्षित पक्राउ परेलगत्तै देश–विदेशमा रहेका सन्चारसम्बद्ध संघ–संस्थाहरुले विरोध जनाएका थिए ।
‘दीक्षितलाई पत्रकारको हैसियतमा नभइ साझा यातायातको अध्यक्षको हैसियतमा पक्राउ गरिएको’ तर्क गर्दै अख्तियारले सार्वजनिक पदको दुरुपयोग गर्ने कसैलाई पनि नछाड्ने चेतावनी पनि दिएको छ ।
‘सन्चारमाध्यमलाई राज्यको चौथो अंगकोरुपमा लिइएपनि पत्रकार भएकै कारण भ्रष्टाचारमा उन्मुक्ति नपाउने’ पनि अख्तियारले स्पस्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्