२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


दीक्षितलाई तत्काल रिहा गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघको माग


0
Shares

काठमाडौं, बैशाख १४ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ, आईएफजेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका पत्रकार कनकमणि दीक्षितलाई तत्काल रिहा गर्न माग गरेको छ ।

आज एक विज्ञप्ति निकाल्दै आइएफजेले दीक्षितलाई तत्काल रिहा गर्न माग गरेको हो । दीक्षितको पक्राउले नेपालमा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर सवाल उठेको बताउँदै आइएफजेले दीक्षितको पक्राउले नेपालको न्याय प्रणालीमा पनि प्रश्न उठेको उल्लेख गरेको छ ।

आइएफजेले दीक्षितलाई तत्काल रिहा गर्न र उनीमाथिको अनुसन्धान पारदर्शी बनाउन पनि माग गरेको छ ।

यसअघि हिमाल मिडियाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष दीक्षितलाई अकूत सम्पत्ति आर्जन गरेको र आफूलाई अटेर गरेको भन्दै अख्तियारले गत शुक्रवार १० गते पक्राउ गरेकामा भारत, अमेरिका, बंगलादेशसहित देशमा तीन दर्जन बढी पत्रकारले पनि रिहा गर्न माग गरेका थिए ।

दीक्षितलाई तत्काल रिहा गर्न नेपाल सरकारसमक्ष माग गरेका छन् । अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पूर्वाग्रह साँधेर दीक्षितलाई पक्रेको भन्दै तत्काल रिहा गर्न नेपालका मानवअधिकारकर्मीहरुले पनि सोमबार माग गरेका थिए ।

पत्रकार दीक्षित भने स्वास्थ्य अवस्था बिग्रेपछि ११ गतेदेखि वीर अस्पतालको सघन उपचार कक्षमा उपचाररत छन् । यद्यपि, विशेष अदालतले भने दीक्षितमाथि छानबीनका लागि आइतवार दश दिन अख्तियारलाई समय दिएको छ ।

पत्रकार दीक्षितले पनि अख्तियारका प्रमुख आयुक्त कार्कीले आफूमाथि पूर्वाग्रही भई बलात रूपमा क्षेत्राधिकारको दायर गरेको आरोप लगाउँदै आएका छन् ।

दीक्षित लगायत मानवअधिकारकर्मीले जनआन्दोलन दबाउन भूमिका खेलेको भन्दै कार्कीलाई अख्तियारको प्रमुख नबनाउन लबिङ गरेकामा आफूविरुद्ध प्रतिशोध साँधेको जिकीर दीक्षितको छ ।