२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


आगो लगाउनेलाई खसी जरिवाना !


0
Shares

जुम्ला, वैशाख १४ । जुम्लाको कुडारी गाविस–४ स्थित जुम्लीभिड राष्ट्रिय वनमा सोमबार आगलागी हुँदा ६ हजारभन्दा बढी बिरुवा सखाप भएका छन् ।

स्थानीयवासी महिलाले चुरोट सल्काएर खाएको ठुटो जथाभाबी फालेका कारण वनमा डढेलो लागेको सोही वडाका महिलाले बताएका छन् ।

‘गुच्ची च्याउ खोज्न गएका बेला एक महिलाले चुरोटको ठुटो फालेकी थिइन्, पछि त्यही ठुटोबाट डढेलो सुरु भयो’–स्थानीयबासी सविना शाहीले भनिन् ।

उनकाअनुसार पछि स्थानीयबासी सबै महिला जुटेर तीन घन्टापछि डढेलो नियन्त्रणमा लिएका थिए ।

डढेलोबाट सल्लो र देवदारका बिरुवा नस्ट भएका छन् । उनकाअनुसार आगो निभाउँदा स्थानीयबासी कुसा कामीको एउटा खुट्टा र कपडा पोलिएको तथा उनको स्थानीय औषधि पसलमा उपचार भइरहेको छ ।

‘हामीले यसमा पुरुषको धेरै साथ सहयोग पायौं, जसका कारण आगो नियन्त्रणमा ल्याइयो’–स्थानीयबासी जानकी शाहीले भनिन् ।

यहाँका पुरुष–महिला मिलेर आगो नियन्त्रणमा नलिएको भए हजार बिरुवा नस्ट हुने थिए ।

समुदायका अन्य महिलाले आगलागीमा संलग्न महिलालाई एउटा खसीको जरिवाना गरेका छन् ।

त्यसैगरी, आइतबार जिल्लाको देपालगाउँमा पनि आगलागी हुँदा सयौं सल्लाका बिरुवा नस्ट भएका छन् ।

आगलागी साँझ भएकाले सुरक्षाकर्मी पठाउन नसकिएको तर स्थानीयबासीलाई परिचालन गर्न लगाएर आगो नियन्त्रणमा ल्याइएको प्रजिअ रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

उनका अनुसार जिल्लाका सबै गाविसलाई डढेलो लाग्नबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । रासस

फाइल फोटो