
काठमाडौं, जेठ १ । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकसित ७८ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
७८ लाख घुस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पाठकसित विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बुधबार सो धरौटी मागेको हो ।
अदालतले मागेको धरौटी रकम बुझाएर पाठक बुधबारै रिहा पनि भएका छन् ।
पाठकले नेपाल बंगलादेश बैंकको बैंक ‘ग्यारेन्टी’ प्रस्तुत् गरेका थिए । पाठक बुधबार सुटुक्क विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतमा बुधबारै थुनछेक बहससमेत भएको थियो ।
सरकारी वकिल र पाठकका कानुन व्यवसायीको बहसपछि धरौटी माग गरी रिहा गर्ने आदेश भएको हो । उनीसँगै प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने फरार छन् ।
नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख रुपैयाँ घुस लिएको भिडियो नै सार्वजनिक भएपछि पाठकले अख्तियारको आयुक्तबाट राजीनामा दिएका थिए ।
सन्चारमाध्यममा पाठकले घुस लिएको भिडियो सार्वजनिक भएलगत्तै अख्तियारले पाठकको संलग्नताबारे अनुसन्धान गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त पाठकविरुद्ध घुस लिएको अभियोगमा गएको चैत १२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसयता पाठक फरार थिए ।
अख्तियारले आफ्नै पूर्वआयुक्तलाई मुद्दा हालेको यो पहिलोपटक हो ।
प्रतिक्रिया दिनुहोस्