Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


बाढीले भासिएको दुईतले पक्की घर विशेष प्रविधिको प्रयोगबाट यसरी उठाइयो


0
Shares

गौशाला, वैशाख १५ । दुई वर्षपहिले महोत्तरी जिल्लाको बदिया बन्चौरी गाविसमा रातु खोलामा आएको बाढीले जमिनमुनि भासिएको एउटा दुईतले घर भारतीय प्राविधिकले विशेष प्रविधिबाट उठाउन सफल भएका छन् ।

जिल्लाको अभिशाप मानिएको रातु खोलाको पश्चिमी किनारामा अवस्थित बदिया बन्चौरी गाविस–४ बस्ने रामेश्वर साफीले एक हजार वर्गफिटमा बनाएको आठ कोठासहितको दुईतले घर २०७१ साल साउनमा आएको भीषण बाढीले जमिनमुनि गाडेको थियो ।

रातुले पूरै घर जमिनमुनि भासिएपछि साफीको घरको दोस्रो तल्ला जमिनको सतहसँग बराबर भएको थियो भने साफी परिवारको ठूलो आर्थिक क्षति भएको थियो । २० लाख नेपाली रुपैयाँ खर्चेर बनाएको दुईतले घरमा दुई महिना पनि बस्न नपाउँदै बाढीले साफी परिवारलाई घरबारविहीन बनाएको पीडित रामेश्वर साफीले बताए । दुई वर्षसम्म के गर्ने, कहाँ बस्ने र भासिएको घरलाई के गर्ने भन्ने सोचमै रुमल्लिरहेका साफीले भारतमा भासिएको घर उठाउने व्यक्तिहरु रहेको थाहा पाएपछि एक महिनाअगाडि उनले पनि आफ्नो भासिएको घर उठाउने भन्दै भारत गएका थिए ।

पीडित साफी भारत विहारको बाढीले बर्सेनि प्रभावित हुने मधेपुरा जिल्ला पुगेपछि उनको मुहारमा खुसी छाएको उनले बताए । उनले मधेपुरा जिल्लाको कटहरवा ग्राम पञ्चायत बस्ने प्राविधिक नन्दकिशोर यादव, सर्वेश कुमार र रणधिर यादवलाई भेटेर आफ्नो सबै कथा सुनाएपछि उनीहरुले साफीको भासिएको घर उठाइदिने बताएपछि साफीले उनीहरुलाई नेपाल आउन आग्रह गरे । त्यसपछि मात्रै १० दिनअगाडि फलामका ज्याक, टेको र मुढासहित बदिया बन्चौरीमा आएर भारतीय प्राविधिकले साफीको भासिएको घर उठाउन सफल भएका छन् ।

पाँच/छ जनाको सङ्ख्यामा आएका ती प्राविधिकले त्यही ज्याक, टेको र मुढाको सहयोगमा भासिएको पक्की घरलाई जरैदेखि उठाउन सफल भएका छन् ।

भासिएको बेला भुइँबाटै दोस्रो तलामाथि चढेर जाने अवस्था रहेको त्यस घरलाई अहिले जमिनमाथि पहिलो र दोस्रो तल्ला बनाइदिएपछि स्थानीयवासीसहित वरपरका सयौँ व्यक्ति त्यस घरलाई हेर्न घुइँचो लाग्ने गरेको छ ।

भारतीय प्राविधिकले भासिएको त्यो घर उठाउन साफी परिवारसँग पारिश्रमिकका रुपमा प्रतिवर्गफिट २५० रुपैयाँ लिएको मुख्य प्राविधिक रणधिर यादवले बताए । उनले आफूहरु जस्तोसुकै बाढीले भासिएको तथा भूकम्पमा बाङ्गोटिङ्गो बनाएका घर, पसल, उद्योग, कलकारखाना, पुलपुलेसा सबै पहिलेकै अवस्थामा ल्याइदिने दाबी गरेका छन् ।

मात्र १० दिनको समयमा साफी परिवारको दुईतले भासिएको घर ठड्याउन सफल भएका भारतीय प्राविधिक अब सडकभन्दा तल रहेको बदिया बन्चौरी गाविस कार्यालयको भवन माथि उचाल्ने काम गर्ने सो गाविसका प्राविधिक सहायक विमलकिशोर झाले बताए । भारतीय प्राविधिकले भासिएको घर उठाएको देखेपछि अहिले गतबर्ष वैशाख १२ गते भूकम्पले घरबारविहीन बनाएका अन्य हजारौँ नेपालीलाई पनि आशा जागेको छ । (रासस)