Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


कक्षा ११ र १२ को परीक्षाको तयारी पूरा


0
Shares

भक्तपुर, वैशाख १८  । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले यही वैशाख २० गतेदेखि सञ्चालन गर्न लागेको कक्षा १२ को र जेठ २ गतेदेखि सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ ।

परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले कक्षा १२ को परीक्षामा तीन लाख ४६ हजार ४२७ जना र कक्षा ११ को परीक्षामा तीन लाख ६९ हजार ४२६ जना गरी कुल सात लाख १५ हजार ८५३ जना परीक्षार्थीले परीक्षा दिने भएको जानकारी दिए ।

जसमध्ये सबैभन्दा कम मनाङ जिल्लामा २०० र सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट एक लाख १४ हजार ३२२ जना परीक्षार्थीले परीक्षा दिने भएका छन् ।

परीक्षाका लागि नेपालभर कुल ९२१ परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिँदै अर्यालले परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जना परिचालित हुने बताए ।

परिषद्का उपाध्यक्ष डा चैतन्य शर्माले ३१ वटा अनुगमन टोली बनाएर परीक्षाको अवलोकन गरिने जानकारी दिँदै उनले यस वर्ष परीक्षासँगै अन्य उच्च माध्यमिक विद्यालयको अवस्थाको पनि अवलोकन गरिने बताए ।

बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरेको जानकारी दिए । रासस