कञ्चनपुर । कञ्चनपुर गाउँ गाउँमा सरकार गठन भएको दुई वर्ष पुग्न थाले पनि कतिपय स्थानीय तहका जनप्रतिनिधिले जनताका आधारभूत सबालमा पनि ध्यान दिन सकेका छैनन् ।
फरकफरक ठाउँका फरकफक आवश्यकतालाई सम्बोधन गर्नका लागि बनेका सरकार जनताप्रति जिम्मेबार नहुँदा कतिपय ठाउँमा जनगुनासो बढ्दै गएको हो ।
गाउँगाउँमा सिंहदरबारको नाराअनुसार स्थापित स्थानीय सरकारबाट ठाउँठाउँमा विकास निर्माणका कामहरु तीव्र रुपमा अगाडि बढेका पनि छन् ।
तर, कतिपय ठाँउमा भने जनताका सामान्य चासो पनि सम्बोधन हुन सकेको छैन ।
जसमध्येको कञ्चनपुरको महेन्द्रनगर बजारबाट झण्डै १० किलोमिटरको दुरीमा रहेको बेदकोट नगरपालिका ५ धरमपुरका स्थानीय हरेकवर्ष गर्मीयाममा खानेपानीको अभावमा झेलिँदै गुज्रिँदै आएका छन् ।
२०५८ सालदेखि बसोबास गर्दै आएका यस बस्तीमा घरमा खानेपानीको ट्यूबेल भएपनि धारामा पानी आउन छोडेपछि उनीहरुलाई टाढाबाट पानी बोक्नुपर्ने अवस्था छ ।
पानीको समस्याका कारण अन्नबाली र तरकारी समेत उब्जाउन नसक्दा दैनिकी चलाउन निकै सास्ती भएको स्थानीय सुनिता थारुको गुनासो छ ।
सरकारी तथा गैरसरकारी संस्थाले खानेपानीका योजना ल्याएपनि ती सञ्चालन हुन सकेका छैनन् ।
अर्कोतिर कतपय स्थानीय तहमा खेत बाँझो राख्नेलाई जरिवाना समेत तोकिएको छ तर यहाँका स्थानीयका खेत भने सिँचाईको असुविधाका कारण बाँझो देखिन्छन् ।
चैत महिना लागेसँगै पानी बोकेर जीविको चलाउँदै आएका स्थानीय बासिन्दा घरदेखि टाढाको धारामा पानी भर्नका लागि पालो कुरेर बस्नुपर्ने बाध्यता रहेको लिला दमाइ बताउँछन् ।
गरिब तथा विपन्न समुदायको बाहुल्यता रहेको यस क्षेत्रका अधिकांश परिवार गुजार दैनिक मजदूरी गरेर चल्दछ ।
तर पानीकै समस्याका कारण निकै सास्ती खेप्नुपरेको छ । झण्डै एक सय घरधुरी रहेको यस बस्तीमा टड्कारो रुपमा देखिएको खानेपानीको आवश्यकताप्रति स्थानीय सरकारले चासो देखाउन सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्