
विराटनगर, वैशाख २० । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु भएको छ ।
स्थानीय सहिद रंगशालामा सोमबार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले महाधिवेशनको उद्घाटन गरे ।
महाधिवेशन उद्घाटन कार्यक्रमलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्दै महाधिवेशनको सफलताको कामना गरे ।
त्यस्तै, छिमेकीमुलुक भारतबाट आएका सत्तारुढ दल भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोशीयारीलगायत चारओटा पार्टीका नेता तथा प्रतिनिधिहरुले पनि शुभकामना व्यक्त गरे ।
महाधिवेशनमा ६४ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरी करिब तीन हजार सहभागी छन् ।
विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको यो महाधिवेशनबाट नयाँ नेतृत्व चुनिने छ ।
वैशाख २३ गतेसम्म चल्ने महाधिवेशनले अध्यक्षमा गच्छदारलाई नै निरन्तरता दिने निश्चित जस्तै छ । महाधिवेशनले पार्टीको नाम परिवर्तनसमेत गर्नेछ ।
तराई मधेसमा क्षेत्रीय राजनीतिक शक्तिकोरुपमा ६ वर्षअघि उदय भएको फोरम लोकतान्त्रिकले पहिलो महाधिवेशनबाटै नाम परिवर्तन गरी राष्ट्रिय दलको झल्को दिने प्रयास गर्ने बताइएको छ ।
नाम फेरेर मधेसमामात्र नभएर हिमाल पहाडमासमेत पार्टी विस्तार गर्ने योजना लोकतान्त्रिकको छ । यो दल हालको संसदमा पाँचौ ठूलो दलको हैसियतमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्