
काठमाडौं, वैशाख २२ । व्यवस्थापिका संसद्को बैठकमा सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् ।
सत्तापक्षीय सांसदहरुले नै सरकारले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।
एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकारले ठोस काम गर्न नसकेको आरोप लगाए । उनले द्वन्द्वका क्रममा भएका घटनालाई ब्यूताउन थालिएको भन्दै आपत्तिसमेत जनाए ।
महासचिव महराले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सबै दल एक भएर अघि बढ्नुपर्ने भन्दै यसमा कुनै पनि दल सत्तापक्ष र विपक्षी नहुने जिकीर गरे ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार असफल भइसकेको भन्दै यो सरकारले मुलुकलाई निकास दिन नसक्ने बताए । उनले मधेसका समस्या समाधान, कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्णरुपमा असफल भएको बताए ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताको पक्षमा वर्तमान सरकार दृढ भएर लागिरहेकाले सबै दल एकजुट हुनुपर्ने बताए ।
राप्रपा नेपालका सांसद दिलनाथ गिरीले सरकार परिवर्तन गरेर मात्र मुलुकका समस्या समाधान नहुने भन्दै सबै दललाई एकजुट हुन अपील गरे ।
प्रतिक्रिया दिनुहोस्