१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


देउवाको कदम पार्टीभित्रै आलोचित, एकपक्षीय ढंगले चलेको भन्दै आपत्ति


0
Shares

काठमाडौं, वैशाख २४ । पार्टीभित्र छलफल नगरी सभापति शेरबहादुर देउवा एकपक्षीय ढंगले अघि बढ्न खोजेको भन्दै नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।

सरकार परिवर्तनको खेलमा लागेर पार्टीको साख गिराएको भन्दै कांग्रेसका प्रभावशाली नेताहरुले सभापति देउवाको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

बिहीबार दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरुले छुट्टै भेला गरी शुक्रबार सभापतिको ध्यानाकर्षण गराएका छन् ।

केन्द्रीय सदस्य प्रकाशमान सिंहको नेतृत्वमा गएको टोली सभापति देउवालाई बूढानिलकन्ठस्थित निवासमा भेटी पार्टीलाई संस्थागत् निर्णयका आधारमा अघि बढाउन ध्यानाकर्षण गराएको हो ।

पार्टीले लिनुपर्ने महत्वपूर्ण निर्णयमा एकपक्षीय ढंगले अघि बढेकोमा आपत्ति जनाउँदै नेताहरुले सरकार परिवर्तन जस्तो संवेदनशील विषयमा पार्टीभित्र आवश्यक छलफलसमेत नगरी अघि बढ्दा अहिले सकारात्मक परिणाम आउन नसकेको निष्कर्ष निकालेका छन् ।

केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्र कुनै छलफल नगरी अघि बढ्न खोज्दा समस्या उत्पन्न हुने भन्दै पार्टीभित्र आन्तिरिक छलफल गरेरमात्र निर्णय लिन सभापतिलाई आग्रह गरेका थिए ।

जवाफमा सभापति देउवाले आगामी दिनमा यस्तो हुन नदिने र आफू सबैसित छलफल गरेर अगि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

सभापतिको पछिल्लो कार्यशैलीले पार्टीलाई कमजोर बनाउने भन्दै केन्द्रीय सदस्यले निर्णय प्रक्रियामा जानुपूर्व आवश्यक छलफल गर्नसमेत सभापतिलाई आग्रह गरेका थिए ।

भेटमा पार्टी कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडू, डा. मीनेन्द्र रिजाल, महेश आचार्य, दिलबहादुर घर्तीलगायतको सहभागिता थियो । रासस

फाइल फोटो