काठमाडौं, वैशाख ३० । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकप्रति साझा विवेकशील पार्टीले गम्भिर आपत्ति प्रकट गरेको छ ।
सो पार्टीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाली प्रेसले प्राप्त गरिसकेको हक र अधिकार कुण्ठित गराएर सरकारका अकर्मण्यता, बेथिति र भ्रष्टाचारलाई मलजल गर्ने प्रयासविरुद्ध खवरदारी गरिरहेको नेपाली मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्टा अनुदार लोकतन्त्र उन्मुख छ भन्ने हाम्रो ठहर हो ।’
राष्ट्रियता, जनजीविका, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको सवालमा वर्तमान सरकारको डेढ वर्षे कार्यकाल अत्यन्त निराशाजनक, बदनामपूर्ण र अलोकप्रिय भएको जिकिर गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सरकार आफ्ना असफलताको ढाकछोप गर्न चाहन्छ । भ्रष्टाचार र कुशासन नियन्त्रण गर्न नसक्ने सरकारहरू सधैँ मिडियालाई नियन्त्रण गर्न चाहन्छन् ।’
सत्तारुढ दलका शीर्ष नेताहरुले नै स्वास्थ्य, शैक्षिक, आर्थिक र भूमि माफियासँग हिमचिम बढाइरहेको प्रमाण नेपाली मिडियाले सार्वजनिक गर्न थालेपछि आत्तिएका नेताहरूले मिडियालाई आफ्नो ‘मुख्य दुश्मन’ ठान्नु स्वाभाविक रहेको सो पार्टीको ठहर छ ।
संसदमा पेश गरिएको मिडिया काउन्सिल विधेयक अविलम्व फिर्ता गरी सरोकारवालाहरुसँगको परामर्शमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनुकुल कानुन निर्माण गर्न साझा पार्टीले सरकारसँग माग गरेको छ ।
‘हामी स्वतन्त्र मिडियाको कट्टर हिमायती भए पनि मिडियाले पनि आफ्नो जिम्मेवारी वहन गर्नु पर्छ भन्नेमा सचेत छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, साझा पार्टी स्वार्थको बझान (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) हुन नदिन तथा स्वतन्त्र र जिम्मेवार प्रेसको रक्षा गर्न पत्रकारहरुको दलैपिच्छे भगिनी संगठन वनाइनु हुँदैन भन्ने मान्यता राख्दछ । पत्रकारहरूको हकहितको रक्षाका लागि गैरराजनीतिक एउटा छाता संगठन हुनु पर्छ । दल आवद्ध अन्य सबै पत्रकार संगठन भङ्ग गरिनु पर्दछ भन्ने हाम्रो ठहर छ ।’
नेपालको लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताका लागि नेपाली प्रेसले पुर्याएको अतुलनीय योगदानको परिप्रेक्ष्यमा प्रेसको घाँटी निमोठ्ने कुनै पनि कदमका विरुद्ध मिडिया जगतसँग आफ्नो साथ रहने पनि सो पार्टीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्