१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


राजदूत फिर्ता बोलाउने निर्णयप्रति कांग्रेसको आपत्ति


0
Shares

काठमाडौं, बैशाख २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

आज व्यवस्थापिका संसदको बैठकमा समय माग गर्दै कांग्रेस सांसद प्रकाशशरण महतले राजदुत उपाध्यायलाई फिर्ता बोलाउनुको कारणबारे सदनमा जवाफ दिन सरकारसँग माग गरे ।

उपाध्यायप्रति सरकारले लगाएको आरोप कांग्रेससँग प्रतिशोध साँध्ने काम भएको उनले बताए । केपी शर्मा ओली नेतृत्वको सरकार फेर्न एकीकृत माओवादीले चाहेकाले त्यसको आरोप राजदूतमाथि लगाउनु निन्दनीय भएको उनको भनाइ छ ।

‘राजदूत उपाध्यायले प्रचण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता लिनु भनेको हो र ?’ भन्दै महतले यो विषयमा प्रचण्डले पनि जवाफ दिनुपर्छ भने ।

सरकारको निर्णयले परराष्ट्र मामिलामा खेलवाड भएको भन्दै कांग्रेसले यस्ता कार्य बन्द गर्न माग गरेको छ ।

यस्तै, संसदमा आज पनि बजेट पूर्वको छलफल जारी छ । हिजो शुरु भएको छलफल आज सकेर भोलि सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको संसद सचिवालयले जनाएको छ । आज पनि मधेसी दलका सांसदले बैठक बहिस्कार गरेका छन् ।