
काठमाडौं, वैशाख २७ । नक्कली कागजात बनाएर वैदेशिक रोजगारीमा पठाएको फेलापरेपछि महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार काठमाडौंका विभिन्न स्थानमा छापा मारेको छ ।
वैदेशिक रोजगार विभागसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न ट्राभल एजेन्सीमा प्रहरीले छापा मारेको हो ।
प्रहरीले श्रमका लागि विदेश हिँडेका दुई कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
पहिलोपटक विदेश जान लागेका ती कामदारको पासपोर्टमा ‘रि–इन्ट्रि’को भिसा हानिएको छ । वैदेशिक रोजगार व्यवसायीको मिलेमतोमा अवैद्य काम भएको प्रहरीले जनाएको छ ।
विमानस्थलमा कामदार पक्राउ गरेसँगै प्रहरीले वैदेशिक रोजगार विभागमा पनि छापा मारेको छ । विभागको ताहचलस्थित श्रम स्वीकृति शाखालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
यसैगरी, प्रहरीले गैरकानुनी काम गरेको सुराकीका आधारमा गौशालास्थित म्यानपावर र ट्राभल एजेन्सीमा छापा मारेको छ ।
प्रहरीको टोलीले इन्टरनेसनल ट्रेङ लिंक्स मेनपावर, हिमालय रेडपान्डा ट्राभल एन्ड टुर र खजाना मेडिकलमा छापा मारी सन्चालकहरुलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले महत्वपूर्ण डकुमेन्ट, दुईथान सीपीयु, दुईथान ल्यापटप, पासपोर्ट र केही टिकट पनि बरामद गरेको छ ।
नक्कली भिसा, नक्कली टिकट बनाएर झुक्याएको, मेडिकलको नक्कली कागजात बनाएर गैह्रकानुनी काम गरेको भन्दै प्रहरीले सन्चालकहरु अमृत ढकाल, फणिन्द्र तामाङ, राजेश ढकाल र सुशील शाक्यलगायतमाथि अनुसन्धान सुरु गरेको जनाएको छ ।
सन्चालकहरुले कार्यालय खोल्न आनाकानी गरेका कारण प्रहरीले चाबी फोडेर खानतलासी गरेको थियो ।
भिडियो हेर्नुहोस्ः
प्रतिक्रिया दिनुहोस्