
काठमाडौं । कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ ।
सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो ।
गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।
शुक्रवारसम्म मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट ८ सय ९८ जना नेपालीहरु फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो ।
यस्तै बंगलादेशबाट २५८ जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ५ जना, कम्बोडियोबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना नेपाल फर्किएका छन् ।
यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन् ।
४० जना नेपालीको शव नेपाल लगियो
यसैबीच यही साता विदेशमा निधन भएका नेपालीहरुको शव समेत नेपाल ल्याउने क्रम सुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ ।
विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शवहरु नेपाल ल्याइएको हो ।
अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामा ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको पनि छ ।
यस बाहेक अझै १६४ शवको व्यवस्थापन बाँकी रहेको छ । ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनको लागि गैरआवासीय नेपाली संघले सम्बन्धीत राष्ट्रिय समितिलाई निर्देशन दिईसकेको छ ।
यसैबीच विश्वका विभिन्न देशहरुमा कोरोना भाइरस महामारीका कारण १ सय ३० जना नेपालीको ज्यान गइसकेको छ । यो साता विदेशमा रहेका थप तीन जनाको मृत्यु भएको छ । गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या शून्य रहे पनि यो साता थप तीन जनाको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्