अक्कल कुँवर (इमेज)
काठमाडौं, वैशाख २९ । संविधान र कानुनविपरीतका आपराधिक क्रियाकलापतर्फ उद्दत भएको निष्कर्ष निकाल्दै सरकारले गत फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगायो ।
सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि प्रहरीले उक्त पार्टीका नेता एवं कार्यकर्तामाथि कडा निगरानी थालेको छ ।
तर, सरकारले चैत मसान्तसम्म विप्लव समूहका क्रियाकलापलाई पूर्णत निस्तेज पार्ने दाबी गरेको भएपनि अहिलेसम्म सफल हुन सकेको छैन ।
गत चैत १५ र १६ गते काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको पूर्वसन्ध्यामा विप्लव नेतृत्वको नेकपाले काठमाडौंलगायतका विभिन्न स्थानमा बम विस्फोट र भौतिक संरचनामा आगजनी गर्नेजस्ता गतिविधिलाई तीव्रता दिएपछि क्रुद्ध बनेको सरकारले उक्त समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।
सुरुमा विप्लव समूहका नेता–कार्यकर्ताप्रति निकै आक्रामकरुपले प्रस्तुत् भएको प्रहरीले दर्जनौं नेता तथा कार्यकर्ता पक्राउ गरेपनि हालसम्म उक्त समूहका गतिविधिलाई निस्तेज पार्न भने सकेको छैन ।
हुन त प्रतिबन्ध लगाएको केही समयपछि चैत ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चैत मसान्तभित्र विप्लव समूहका गतिविधिलाई पूर्णरुपले निस्तेज पार्नुका साथै उक्त समूहका नेता विप्लवलाई नियन्त्रण गरिसक्ने दाबी गरेका थिए ।
तर, प्रधानमन्त्री ओलीले दाबी गरेको समयसीमाभन्दा एक महिना बढी समय बितिसक्दा पनि न त विप्लव समूहको क्रियाकलाप अपेक्षितरुपमा नियन्त्रणमा आउन सकेको छ न त विप्लवलगायतका नेता नै पक्राउ परेका छन् ।
प्रतिबन्धपछि विप्लव नेतृत्वको समूहका मध्यक्षेत्रीय कमान्डर एवं तेस्रो तहका नेता पक्राउ गर्नुलाई प्रहरीले ठूलो उपलब्धि मानेको छ ।
अहिलेपनि प्रहरीले उक्त समूहका नेता तथा कार्यकर्ता पक्राउ गर्नेक्रम जारी राखेपनि प्रधानमन्त्री ओलीले दाबी गरेअनुसार प्रहरीले सफलता हात पार्न सकेको छैन ।
विल्लव समूहले भने सरकारको प्रतिबन्धका बाबजुद् आफ्ना पूर्ववत् क्रियाकलाप जारी राखेको छ ।
यता, आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोप लागेका उक्त समूहका प्रमुख विप्लव पक्राउ नपर्दासम्म प्रहरीको सक्रियता जारी रहने प्रहरीले जनाएको छ ।
वि.सं. २०७१ साल मंसिरमा नेत्रविक्रम चन्दले मोहन वैद्य नेतृत्वको नेकपा माओवादीबाट अलग्गिएर छुट्टै दल घोषणा गरेदेखि नै चक्काजाम, नेपाल बन्द, विस्फोटलगायतका क्रियाकलाप गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्