Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कोरोना संक्रमितलाई पानी लिन नदिन छाडिएको करेन्ट लागेर महिलाको मृत्यु


0
Shares

डोटी । जिल्लाको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

सोही वडाका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीट्याङ्कीमा करेन्ट प्रवाह गरेका कारण निज महिला थापा बागलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

पानीट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई इलाका प्रहरी कार्यालय आदर्शबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

उनले भने, “ट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको छ, बाँकी उनको वयानपछि सबै कुरो खुल्ने छ ।”

गाउँको सार्वजनिक धारामा भारतबाट रोजगारी गरी घर फर्किएका कोरोनाको सङ्क्रमित भएका व्यक्तिले पनि पानी भर्न आउने गरेका कारण आफूले धारामा करेन्ट प्रवाह गरेको पक्राउ परेका किमाडीले प्रहरीसमक्ष बयान दिएको इलाका प्रहरी कार्यालय आदर्शले जनाएको छ ।

करेन्ट लागेर मृत्यु भएकी निज महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटी ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मृतक महिला आफ्नै गाउँको विद्यालयमा बाल विकास सहयोगी हुन् ।