१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


पुनःनिर्माणको पाँच वर्षे कार्ययोजना सार्वजनिक, ‘८ खर्ब ३८ अर्ब खर्च’


0
Shares

काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी पाँच वर्षे कार्ययोजना व्यवस्थापिका–संसदमार्फत् विहीबार सार्वजानिक गरेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यही पुस १० गतेदेखि कार्य सुरु गरेको थियो ।

प्रधानमन्त्री ओलीले भूकम्पपश्चात पुनःनिर्माणसम्बन्धी स्पस्ट मार्गनिर्देशन कार्ययोजनाले प्रदान गरेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले ‘भूकम्पपछिको आवश्यकता मूल्यांकन प्रतिवेदन (पीडीएनए)को सट्टामा कार्ययोजना आएको होइन’–भने ।

भूकम्पपछि पुनःनिर्माणका लागि सरकारी, निजी दातृनिकायलाई स्पस्ट मार्गदर्शनका लागि कार्ययोजना ल्याइएको उनले स्पस्ट पारे ।

यसअघि, पीडीएनएको प्रतिवेदनमा रु ६ खर्ब ९९ अर्ब लागत प्रक्षेपण गरिएकामा अहिले क्षतिग्रस्त घरधुरीको संख्या थप देखिएको र मन्त्रालयलेसमेत थप माग गरेका कारण अहिलेको रकम बृद्धि भएको प्रधानमन्त्री ओलीले बताए ।

उनले कार्ययोजनाले रु ८३८ अर्ब बराबरको रकम पाँच वर्षका लागि विनियोजन गरेको जानकारी दिँदै दुई वर्षभित्रमा सबै आवास निर्माण गरिसक्ने गरी निजी आवासका लागि रु ६ खर्ब ४५ अर्ब, उत्पादन क्षेत्रमा रु एक खर्ब ६ अर्ब, प्रवद्र्धनात्मक खर्चमा रु ६१ अर्ब र अन्तरविनियोजनमा रु २६ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पाँच वर्षभित्र सबै सांस्कृतिक तथा पुरातात्विक धरोहरको पुनःनिर्माण गरिसक्ने, तीन वर्षभित्र स्वास्थ्यचौकी, अस्पताल र सरकारी भवन निर्माण गरिसक्ने गरी कार्ययोजना आएको जानकारी दिए ।

उनले महत्वपूर्ण निर्माणका लागि आवश्यक नीति र संरचनागत् व्यवस्था, आवश्यक वित्तीय व्यवस्थापनको मार्गनिर्देशन कार्ययोजनामा रहेको बताए । रासस