
काठमाडौं, वैशाख ३० । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्तिप्रक्रियालाई पूर्णता दिने विषयमा सरकारले तत्परता नदेखाएका कारण आफूहरुले राष्ट्रिय सहमतिको सरकारको विषय उठाएको बताएका छन् ।
आफ्नै निवास हात्तीवन, ललितपुरमा विहीबार पत्रकार सम्मेलन गरी उनले ‘भूकम्पपछिको पुनःनिर्माण, राष्ट्रिय समस्याको समाधान तथा तराई–मधेसमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्नेतर्फ सरकार जुन गम्भीरताकासाथ लाग्नुपथ्र्यो, त्यो नहुनु दुःखद् हो’–भने ।
सरकारको नेतृत्वकर्ता नेकपा एमाले र आफ्नो पार्टीबीच पछिल्लोपटक भएको ९ बुँदे सहमतिले शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने र थाँती रहेका राष्ट्रिय समस्या समाधान गर्ने विश्वास व्यक्त गर्दै उनले कुनैपनि बहानामा कुनैपनि दल भाग्न नपाउने स्पस्ट पारे ।
नेपालको परराष्ट्र नीति दुबै छिमेकी मुलुकसँग समान सम्बन्ध राखेर अगाडि बढ्ने उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले विदेशीको अनावश्यक चलखेल बढेकाले त्यसलाई रोक्न सुझबुझपूर्ण निर्णय गरिएको बताए ।
कार्यतालिका तयार गरेर शान्तिप्रक्रियाको बाँकी कार्यभार पूरा गर्न प्रमुख सत्तारुढ दलबीच सहमति भएको उनको कथन थियो ।
राष्ट्रिय सहमतिको कुरा गर्दा कुनै दलले अर्कोलाई धोका दियो भन्नु तथा आरोप–प्रत्यारोप गर्नु पूर्णतः गलत भएको जनाउँदै उपाध्यक्ष श्रेष्ठले राष्ट्रिय सहमति मुलुकको आवश्यकता भएको स्पस्ट पारे । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्