
मनिष गुप्ता (इमेज)
कपिलवस्तु, वैशाख २८ । कपिलवस्तुको चन्द्रौटाबाट शनिबार १३२ टन चिनियाँ युरिया मल बरामद गरिएको छ ।
स्थानीय शिवराज नगरपालिका–७ मा रहेका दुईओटा प्लाइउड उद्योगबाट १३२ टन चिनियाँ युरिया मल बरामद गरिएको हो ।
पशुपति प्लाइउड र जय अम्बे प्लाइउड उद्योगमा मल झार्न लागिएको अवस्थामा प्रहरीले मलसहित ६ ओटा भारतीय ट्रक नियन्त्रणमा लिइएको हो ।
प्लाइ उद्योगमा युरिया मल भित्र्याउन लागेको सूचना पाएपछि मल नियन्त्रणमा लिएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख जगदीश अर्यालले बताए ।
ती दुवै उद्योगमा ५० केजीका २६ सय ४० बोरा मल भित्र्याइएको हो ।
उद्योगमा सिलबन्दी गरिएको छ ।
उद्योगका सन्चालकहरुले भने प्लाइ टाँस्न प्रयोग हुने युरिया कृषि तथा पशुपक्षी मन्त्रालय र प्रदेश नम्बर–५ अन्तर्गत् रहेको घरेलु तथा साना उद्योग कार्यालयको सिफारिसमा ल्याएको दाबी गरेका छन् ।
पशुपति प्लाइका सन्चालक अशोक अग्रवालले आफूहरुले सबै प्रक्रिया पूरा गरेर चीनको संघाईबाट भारतको कोलकाता हुँदै सुनौली नाकाबाट सो मल ल्याएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्