काठमाडौं, वैशाख २८ । नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातओटै प्रदेशका मुख्य सहरमा आमसभा गर्ने भएको छ ।
पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार विराटनगर, पोखरा, जनकपुर वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा गरिने कार्यक्रमलाई पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्नेगरी कार्यक्रम तय गरिएको छ ।
कार्यक्रम तालिकाअनुसार आगामी जेठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगन्ज, १७ गते भैरहवा, १८ गते नेपालगन्ज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गर्ने कार्यक्रम छ ।
काठमाडौंमा भने पार्टी एकीकरणको दिनलाई नै आधार मानिने सहअध्यक्ष श्रेष्ठले बताए ।
पार्टी एकीकरणपछि भएको पहिलो पदाधिकारी बैठकले काठमाडौंसहित देशका ८ सहरमा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
यही वैशाख २३ गते संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भइ नयाँ समाजवादी पार्टी घोषणा गरिएको थियो ।
सहअध्यक्ष श्रेष्ठले प्रदेश र जिल्ला तहमा जनसंगठन एकीकरणलाई प्रभावकारीरुपमा अघि बढाइने बताए ।
समाजवादी पार्टीको प्रदेश नम्बर–६ र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा संगठन रहेको पनि उनले जानकरी दिए । समाजवादी पार्टीका १७ सांसद छन् ।
राजपासँग वार्ता पहल
समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सँग पार्टी एकीकरणका लागि पहल थालेको छ ।
पार्टीका सहअध्यक्ष श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय वार्ता टोलीले आवश्यक छलफल सुरु गरेको सो पार्टीले जनाएको छ ।
राजपासहित विचार र सिद्धान्त मिल्ने दल एवं संगठनलाई एकताका लागि अपिल गरिएको संयोजक श्रेष्ठले उल्लेख गरे ।
वार्ता समितिमा पर्शुराम खापुङ, नवराज सुवेदी, डम्बर खतिवडा र रामसहाय यादव सदस्य रहेका छन् । रासस









प्रतिक्रिया दिनुहोस्