काठमाडौं, वैशाख २७ । काठमाडौंको अनसनस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको घडीघर भत्काएर निजी कम्पनीलाई सपिङ मल बनाउन दिने निर्णयविरुद्ध स्थानीय एकजुट भएका छन् ।
नेवारी भाषामा ‘कोथुननी’ भनिने उक्त स्थानको अस्तित्व नै नरहने गरी गुठी संस्थानले बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेपछि स्थानीय समुदाय आन्दोलित भएका हुन् ।
सम्झौताविरुद्ध स्थानीयहरुले शुक्रबार असनमा खबरदारीसभा आयोजना गरे ।
विरोधसभामा सहभागी स्थानीय अगुवा, सम्पदाप्रेमी, सांसदहरु तथा पूर्वमन्त्रीलगायतले तत्काल सम्झौता रद्द गर्न गुठी संस्थानलाई चेतावनी दिएका छन् ।
ऐतिहासिक धरोहरहरु मास्दै जाने निर्णय कुनै हालतमा मान्य नहुने भन्दै उनीहरुले मागको सुनुवाइ नभए कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन् ।
झन्डै ७०० वर्षको इतिहास बोकेको यस घरको रेखदेख बज्राचार्य समुदायले गर्दै आएका छन् । घरपछाडिको विहारमा अमिताभ बुद्धको ५०० वर्ष पुरानो मूर्ति रहेको छ ।
८ आना ३ पैसा क्षेत्रफल रहेको सो स्थान निजी कम्पनीलाई वार्षिक ८ लाख रुपैयाँ भाडा लिनेगरी ३० वर्षका लागि दिने सम्झौता गुठी संस्थानले गरेको छ ।
पछिल्लो समय भू–माफियाहरुले महत्वपूर्ण ठाउँका जमिन तथा सम्पदा क्षेत्राम कब्जा जमाएको खबर सार्वजनिक भइरहेका बेला असनजस्तो देशकै पुरानो सहरको स्वरुप र मौलिकता बिगार्ने गरी सम्झौता गरिएको आरोप पनि स्थानीयले लगाएका छन् ।











प्रतिक्रिया दिनुहोस्