काठमाडौं, वैशाख २७ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले १३औं ‘साग’को तयारीमा सरकार जुटिरहेको स्पस्ट पारेका छन् ।
रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले आगामी मंसिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिता भव्यरुपमा आयोजना र सफलरुपमा सम्पन्न गर्नेगरी सरकार तयारीमा जुटिरहेको जानकारी दिए ।
सागको मिति अब नसर्नेसमेत उनको भनाइ थियो ।
सरकारको आर्थिक वर्ष २०७६/७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३औं साग प्रतियोगिता आयोजना गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनकाक्रममा उल्लेख गरेको बताउँदै उनले बिहीबारमात्रै उक्त प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन भएको जानकारी दिए ।
मन्त्री विश्वकर्माले सीमित स्रोत र साधनको बाबजुद् पनि नेपालले खेलकुद क्षेत्रमा प्रगति गरिरहेको स्पस्ट पार्दै भने–‘हाम्रो उत्साहजनक र गौरव गर्नसक्ने इतिहास छ । अझै गौरव गर्न लायकको अवस्था बनिरहेको छ । १३औं साग प्रतियोगितमा नेपालले आफ्नो इतिहास कायम र रक्षा गर्ने अभिभारा आफूहरुसँग रहेको छ ।’
उनले प्रतियोगितामा धेरैभन्दा धेरै पदक जित्ने आफूहरुको लक्ष्य र विश्वास रहेको बताउँदै आगामी जेठदेखि नै खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने बताए ।
प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणका काम तीव्रगतिमा भइरहेको बताउँदै उनले भूकम्पपछि भत्किएको दशरथ रंगशालाको पुनःनिर्माणको काम पनि तीव्रगतिमा भइरहेको जानकारी दिए ।
‘रंगशाला पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । सातदोबाटो पौडी पोखरीको पनि निर्माणकार्य सम्पन्न भइसकेको छ । सातदोबाटोकै तेक्वाक्दो र कराँतेको हल पनि निर्माण भइसकेको छ’–उनले भने ।
खेलकुद क्षेत्रको विकासका लागि सरकारी, निजी तथा गैरसरकारी सबैले मिलेर सहकार्य गर्नुपर्ने बताउँदै उनले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न लागेको कुरा सकारात्मक भएको बताए । रासस








प्रतिक्रिया दिनुहोस्