
प्रकाश मैनाली (इमेज)
सर्लाही, वैशाख २७ । सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायणखोलाबाट ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।
प्रहरीले गाँजा प्रशोधन गर्ने स्थलमा छापामारी एक क्विन्टल गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका नारायणखोला, गङ्गटेका ३३ वर्षीय सानोकान्छा योञ्जन र पर्साको पर्सागढी नगरपालिका मनवाबजारका ३४ वर्षीय प्रगन सहनी रहेका छन् ।
बिहीबार साँझ लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा नारायणखोलास्थित गङगटेमा सन्चालन गरिएको गाँजा प्रशोधन केन्द्रमा छापा मारेको थियो ।
सो स्थानबाट कच्चा हरियो गाँजालाई प्रशोधन गरी तयारी गाँजा बनाउने काठको फर्मा, रेन्ची र फलामको मेसिनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका योञ्जन र सहनीले लामो समयदेखि हरियो गाँजा प्रशोधन गरी बिक्री–वितरण गर्ने गरेको पाइएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले बताए ।
बरामद गरिएको गाँजा, प्रशोधन गर्ने उपकरण र दुवै कारोबारीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दी ल्याइएको प्रहरी निरीक्षक किरणप्रसाद न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्