
रुकुम, जेठ ५ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान पुनर्लेखनको माग राखेर आन्दोलन गर्नुको कुनै तुक नभएको बताएका छन् ।
प्रेस युनियन रुकुमले बुधबार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने–‘विश्वमा यस्तो संविधान बिरलै बनेको छ, संविधानसभाको ९० प्रतिशत प्रतिनिधिले निर्माण गरेको संविधान पुनर्लेखन नभइ जनताकै चाहना र आवश्यकतामामात्रै संशोधन हुनसक्छ ।’
केही अमूक शक्तिले संविधान पुनर्लेखनको माग गर्नुलाई ‘बेमौसमको बाजा’को संज्ञा दिँदै महामन्त्री कोइरालाले वार्तामार्फत् नै समस्याको समाधान गर्न आन्दोलनरत् पक्ष र सरकारलाई आग्रह गरे ।
मधेस समस्याप्रति पार्टी गम्भीर भएको बताउँदै उनले भने–‘मधेसलगायत आन्दोलनरत् पक्षसँग वार्तामार्फत् समाधान खोज्न कांग्रेस तयार छ, तर राष्ट्रियता खतरामा पर्ने गरी सम्झौता गर्न कांग्रेस बाध्य हुँदैन ।’ रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्