
काठमाडौं, जेठ ६ । हिमाली उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा पहिलोपटक हिमाली कृषि व्यवसाय प्रवद्र्धन मेलाको आयोजना गरिएको छ ।
उच्चपहाडी जिल्लाहरुमा कृषि, पशुपछी तथा जडिबुटीजन्य व्यवसायको विकास गरी स्थानीयको आयस्तर बढाउने उद्देश्यले सन्चालित हिमाली आयोजनाले मेलाको आयोजना गर्न लागेको हो ।
आयोजना निर्देशक डा. विमलकुमार निर्मलले मेलामा हिमाली क्षेत्रका कृषिउपजहरुको प्रदर्शनी तथा व्यवसाय प्रवद्र्धन गरिने जानकारी दिए ।
उनले हालसम्म आयोजना हुँदै आएका कृषिमेलामा पहाड एवं तराईका उत्पादनहरुमात्र प्रदर्शन गरिँदै आइएकोमा यस मेलामा भने हिमाली क्षेत्रका उत्पादन रहने हुनाले मेलाको विशेष महत्व रहेको बताए ।
जेठ ७ देखि ९ गतेसम्म राजधानीको भृकुटीमन्डपमा चल्ने मेलामा सोलुखुम्बु, मुगु, मनाङ, मुस्ताङ, डोल्पालगायतका १० जिल्लामा उत्पादित कृषि उत्पादन राखिने छन् ।
याक चीज, छुर्पी, फेरुवा, केशर, जुम्ली मर्सी चामल, हिमाली चिया, सिलाजित, ओखर, चिराइतो, अलैंचीलगायतका ७६ ओटा उत्पादनहरु मेलाको मुख्य आकर्षण रहनेछन् ।
मेलाबाट हिमाली उत्पादनहरु बिक्री–वितरणका साथै हिमाली वस्तुहरुको उपयोगसम्बन्धी जनचेतना बढाउने एवं हिमाली व्यवसायी तथा व्यापारीहरुबीच दीर्घकालीन व्यापारिक सम्झौता हुने विश्वास आयोजकको रहेको छ ।
मेलाको १ लाख बराबरले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार हुने आयोजकले अपेक्षा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्