
प्रधानमन्त्री केपी शर्मा ओलीले योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिए मात्रै निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्षम हुने दावी गरेका छन् ।
कोरोना महामारीको यो समयमा औषधीय गुणयुक्त आहर, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय रहेको भन्दै यो विषयमा योगशास्त्रले ज्ञान दिएको उनले बताए ।
योग साधनाले तनाव व्यवस्थापनमा सघाउने बताउँदै मानव जीवनलाई स्वस्थ्य र नैतिकवान बनाउन मद्दत गर्ने उनको भनाइ छ ।
भागवत गीताको प्रसंग कोट्याउँदै उनले योगलाई मोहको त्याग र कर्मको कुशलताका रुपमा ब्याख्या गरेको स्मरण गरेका छन् ।
छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले मानसिक अन्तर्यात्रा मार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको बताए ।
तनाव, अवसाद, द्वेष, ईश्र्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले डोर्याउन योग मानवीय जीवनको अङ्ग बन्नु आवश्यक रहेको उनको भनाइ छ ।
सन् २०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ ।
नेपालमा भने माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्