६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


समय अगावै गर्भवती महिलालाई किन हुन्छ प्रसव ?


0
Shares

भक्तपुर, जेठ ८  । समय अगावै प्रसव सुरु हुनामा गर्भवतीले गर्ने धूमपान एक प्रमुख कारण भएको सरोकार भएकाहरुले बताएका छन् ।

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल, भक्तपुर र चित्तपोल सामुदायिक अध्ययन केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा विज्ञले गर्भवतीका नजिक अन्य व्यक्तिले गर्ने धूमपानले समेत महिलाको प्रसव समयलाई असर गर्ने बताए ।

गर्भवती र बालबालिकाको नजिकै गरिने धूमपानको धुवाँले सेवनकर्तालाई भन्दा नजिकै बसेकाहरुको स्वास्थयमा ४० गुणा बढी असर गर्ने बताइएको छ । कार्यक्रममा स्त्रीरोग विज्ञ डा कृष्णप्यारी दुगुजुले नौ महिना नपुग्दै प्रसव व्यथा लागेर अस्पताल आउनेको सङ्ख्या बढ्नाको प्रमुख कारणमध्ये एक अप्रत्यक्ष धूमपान रहेको बताए ।

दिन नपुग्दै व्यथाले च्यापिनेको यकिन तथ्याङ्क नभएकाले अनुसन्धानको खाँचो औंल्याउँदै उनले भ्रूण तुहिनाको प्रमुख कारण पनि अप्रत्यक्ष धूमपान रहेको जानकारी दिए ।

सिद्धार्थ ज्योति नेपालको संयोजनमा भएको सो कार्यक्रममा डा दुगुजुले नेपालमा गर्भवती अवस्थामा धूमपान गर्नुहुन्न भन्ने सन्देश पुगे तापनि गाउँघरमा गर्भवतीले सुर्तीयुक्त गुट्खा र पान सेवन गर्ने प्रवृत्तिले आमा र शिशुको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको बताए ।

उनले भने, “श्रीमान् र सासूससुराले गर्भवतीकै छेउमा धूमपान गरिदिँदा अप्रत्यक्ष धूमपान हुन गई बच्चाको टाउको ठूलो हुने, सुस्त मनस्थितिको बच्चा जन्मिने, गर्भ तुहिने, शिशु र आमाको रोगप्रतिरोधात्मक क्षमता ह्रास भइरहेको छ ।”

कार्यक्रममा चित्तपोल स्वास्थ्य चौकीका इन्चार्ज खेमनन्द पौडेलले प्रत्यक्ष र अप्रत्यक्ष धूमपानका कारण गर्भवतीले जन्म दिएको शिशुको तौलमा कमी आउने, पूर्ण रुपले विकास नभइकन शिशु जन्मने खतरा हुने र शिशुमा दीर्घकालीन रोग निम्तिने जानकारी दिए । उनले समुदायको सहयोगमा कम्तीमा स्वास्थ्य चौकीको वरपरलाई सुर्ती निषेधित क्षेत्र घोषणा गरिने प्रतिबद्धता जनाए ।

सञ्जालका जिल्ला संयोजक रत्नश्वरी चवालले नेपालमा ३७ प्रतिशत महिलाले प्रत्यक्ष धूमपान गर्ने गरेको जानकारी दिइन । विगतमा गाउँघरका महिलाले नबुझेका कारण र सहरी महिलाले सौखिनता प्रदर्शन गर्न मात्र धूमपान गर्ने गरेकामा हाल धूमपानसेवनकर्तामा शिक्षित किशोरीको सङ्ख्या बढ्नाले चिन्तित तुल्याएको बताइन।

हिन्दी र पश्चिमा चलचित्र अनि युट्युबमा पाइने सी ग्रेडका अश्लील नेपाली छोटा चलचित्रमा नायिकाले धूमपान गर्ने दृष्य अधिक हुँदा किशोरीलाई सुर्ती सेवन गर्न उक्साएको उनको ठम्याइ छ । “यसलाई नियन्त्रण गर्न सरकारले कानुनको कार्यान्वयनमा तदारुकता देखाउनुपर्छ,” उनले भनिन ।

चित्तपोल सामुदायिक अध्ययन केन्द्रका मनशोभा त्वाती र देउजागाउँ माविका निमित्त प्रअ निर्मल माकले आफ्नो गाउँघरका सार्वजनिक ठाउँलाई धूमपान निषेधित क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे। रासस