
गुल्मी, जेठ ९ । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक कमलसिंह बमले ईलाका प्रहरी कार्यालय जोहाङ गुल्मीको नवनिर्मित कार्यालय भवनको आइतबार एक समारोहबीच उदघाटन गरेका छन् ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक बमले मुस्कानसहितको प्रहरी सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, मुस्कानसहितको प्रहरी सेवा भनेको हाँसेर सेवा दिनुमात्रै नभई सेवाग्राहीको आत्मसन्तुष्टी हुने गरी प्रहरी सेवा प्रदान गर्नुपर्ने, मानवअधिकारको संरक्षण गर्नुपर्ने, भेदभावरहित प्रहरी सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै प्रहरी सेवामा कुनै गुनासो भएमा तत्काल जानकारी गराउन सर्वसाधारणमा आग्रह गरे ।
सो अवसरमा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा पुनःनिर्माण शाखाका प्रहरी नायव उपरीक्षक टिकाराम देवकोटाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए भने अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले धन्यवाद ज्ञापन गरे । समारोहमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
भवन निर्माण समितिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा बिभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, स्थानिय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला सञ्जाल, स्थानीय आमा समुहका प्रतिनिधि, स्थानीय भद्रभलादमी बुद्धिजिवीहरुको समेत उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्