७ असार २०८२, शनिबार | Sat Jun 21 2025


बढी शुल्क असुल्ने विद्यालयलाई कारबाहीको माग


0
Shares

काठमाडौँ, जेठ ११ । संयुक्त विद्यार्थी सङ्गठनको बैठकले ऐन विपरीत शुल्क लिएका विद्यालयलाई चाँडो कारबाहीको माग गरेको छ ।

नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यालय धोबीधारामा मंगलबार बसेको संयुक्त विद्यार्थी सङ्गठनको बैठकले अनुगमनका क्रममा धेरै शुल्क लिएको जनाई कारबाही गर्न माग गरेको हो ।

अनुगमनका क्रममा धेरै विद्यालयले शिक्षा ऐनभन्दा बढी रकम लिएको भन्दै कारबाही गर्न शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउन लागिएको बैठकमा सहभागी नेविसङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

कारबाही गर्न मन्त्रालयले आलटाल गरे फेरि आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी पनि उनले दिए । अनुगमन जानुपूर्व शिक्षा मन्त्रालयले एक हप्तामा कारबाही गर्ने सहमति भए पनि कारबाही गर्न आलटाल गरेपछि विद्यार्थीले शिक्षामन्त्रीलाई अन्तिम चेतावनी दिन लागेका हुन् ।

बैठकमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु पाँचौ लगायत ११ विद्यार्थी सङ्गठनका नेताको सहभागिता थियो।