१२ आश्विन २०८०, शुक्रबार | Sat Sep 30 2023


भासिएको नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नुको विकल्प छैन : विज्ञ


0
Shares

चितवन, असार २७ । नारायणगढ–मुग्लिन सडकखन्डको गाईघाटनजिक सडक भासिएको ठाउँमा भित्तो काटेर वैकल्पिक मार्ग तयार गर्ने तयारी गरिएको छ ।

सो सडकको बुधबार भूगर्भविद् अच्युत कोइराला नेतृत्वको विज्ञ समूहले अनुगमन गरेको थियो । समूहले विस्तृत् प्रतिवेदन काठमाडौं फर्किएर दिने बताइएको छ ।

कोइरालाले भने–‘सम्भवतः भित्तो काटेर वैकल्पिक सडक निर्माण गर्नुकोे विकल्प छैन ।’

उनकाअनुसार ११ मिटर फराकिलो सडकमध्ये ८ मिटर भासिएको छ । भासिएको जति भित्तो काट्नुपर्ने देखिएको उनले बताए ।

कोइरालाले बिहीबार बिहानसम्म नियमित अनुगमन गर्न लगाएको बताउँदै अरु भासिँदै गएमा तत्काल भित्तो काट्ने र रोकिएमा भासिएको सडकलाई मर्मत–सम्भार गर्नसकिने या नसकिने विषयमा छलफल गरिने जानकारी दिए ।

काठमाडौं फर्किएपछि यसअघि सो ठाउँमा ‘रक स्वायल एङ्करिन’ गरेका विज्ञ समूहसँग पनि छलफल गर्ने उनले बताए ।

मंगलबार बिहानदेखि भासिन सुरु गरेको सो सडकमा भासिनेक्रम निरन्तर बढिरहेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले विज्ञहरुको प्रतिवेदनको पर्खाइमा रहेको बताए ।

भासिनेक्रम जारी रहेकाले भित्तो काट्नुको विकल्प भने नदेखिएको उनले बताए ।

सडक भासिनेक्रम बढ्दै गएपछि मंगलबारदेखि नै सडक एकतर्फी सन्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ ।

सडकको ३० मिटर लम्बाइ र छेउबाट ८ मिटर चौडा भाग भासिएको हो । सो ठाउँमा ९ मिटर कालोपत्र गरिएको छ । कालोपत्रको नदीतर्फ थप दुई मिटर खुला भाग रहेको छ ।

सोही ठाउँमा २०६० सालमा रक स्वायल एङ्करिङ गरिएको थियो । तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर रक स्वायल एङ्करिङ गरिएको बताए ।

भित्तोमा ड्रिल गरी १०/१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङ्करिङ भनिन्छ ।

सोही ठाउँको रक एङ्करिङले काम गर्न छोडेर वा त्रिशूली नदीले बाटोमुनिको भागमा खोलेर भासिएको हुनसक्ने अनुमान गरिएको छ । हाल सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।

सोही सडक हुँदै दैनिक १० हजारको हाराहारीमा सवारी–साधन आवात–जावत गर्ने गर्दछन् । रासस